
काठमाडौँ, ७ असोज । राष्ट्रकवि माधव प्रसाद घिमिरेले आइतबार एक सयौँ जन्मदिन मनाईरहेका छन् । सय वर्षमा पनि उनको जोश, जाँगर, उत्साह र सक्रियता ‘तन्नेरी’ नै देखिन्छ ।
खासगरि कविता र गीतमा जीवन्त सिर्जना पस्किएका उनका थुप्रै रचना छन् । त्यसमध्ये आज हामी यहाँ उनका चार वटा गीत उल्लेख गर्दैछौँ । उनका चार गीत जो अहिले पनि उत्तिकै चर्चित छन् । सबैको ओठमा झुण्डिरहेका छन् । उत्तिकै ताजा लाग्छन् ।
१) आजै र राती…
राष्ट्रकवि घिमिरेले लेखेको यो गीत स्वरसम्राट नारायण गोपालले गागएका छन् । घिमिरेले लेखेका कालजयी गीतमध्ये यो पनि पर्दछ । अहिले पनि आम नेपालीको हृदयमा बस्न सफल भएको छ यो गीत । गीतको पुरा शब्द यस्तो छ :
आजै र राती के देखेँ सपना मै मरी गएको
बतास बिना हांगाको फूल भुइँ झरी गएको
मर्स्याङ्ग्दी नदी नरमाईलो सुसाई रहेको
कहाँ हो कहाँ बादल भित्र म रोई रहेको
वारि र पारि घाम र छायाँ माझैमा पियार
संसारमा जन्म, दिएर ईश्वर बैँशमा नमार
आजै र राती के देखेँ सपना मै मरि गएको
बतास बिना हांगाको फूल भुइँ झरि गएको
२) गाउँछ गीत नेपाली..
घिमिरेले लेखेको यो पनि निकै लोकप्रिय छ । राष्ट्रियताले भरिपूर्ण यो गीत अहिले पनि विभिन्न राष्ट्रिय सभासमारोहमा बज्ने गर्दछ । यो गीतमा कोइलीदेवी र पाण्डव सुनारको स्वर रहेको छ । यो गीत आधारभूत तहको पाठ्यपुस्तकमा समेत समावेश छ । गीतको पुरा शब्द यस्तो छ :
गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली
जय जय जय नेपाल सुन्दर शान्त नेपाल ।
गण्डकी कोशी कर्णाली मेची र महाकाली
लेक र बेंसी ब्युँझाउँछन् लहर लाख उचाली
हिमालचुली बोलाउँछ पहिलो झुल्का निकाली
सगरमाथा शिखरमा पुग्दछ पहिले नेपाली ।
सीताले सारा भिजाइन दक्षिण लंका भारत
भृकुटी तारा उदाइन उत्तर चीन तिब्बत
बुद्धले यहीं पाएथे ज्ञानको पहिलो मुहान
शिबले यहीं ल्याएथे सृष्टिको पहिलो बिहान ।
पश्चिम किल्ला काँगडा पूर्वमा टिष्टा पुगेथ्यौं
कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौं
हामीले हिमाल उठायौं एशियाको माझमा
सभ्यता बास बसेथ्यो आएर यहीं साँझमा ।
यही नेपाली माटोमा दिलको फूल रोपेर
यही पहाडी शिलामा पृतको गीत खोपेर
बाँचौला हामी नेपालमा चन्द्र र सूर्य ध्वजा लिई
नाँचौंला हामी हिमालमा ज्योतिको पंख उचाली ।
३) फूलको थुङ्गा बहेर…
घिमिरेले लेखेको यो गीत पनि कालजयी गीत अन्तर्गत पर्छ । नातिकाजीले संगीत भरेको यो गीतमा तारादेवीको आवाज रहेको छ । घिमिरले वर्षाैँ पहिले रचना गरेको र वर्षाैँ पहिले गाइएको यो अहिले पनि उत्तिकै मर्मस्पर्शी र लोकप्रिय छ । अहिले पनि उत्तिकै सुन्न पाइन्छ । धेरै गायक, गायिकाहरुले अहिले पनि विभिन्न कार्यक्रमहरुका यो गीत गाउने गरेका छन् । यस्तो छ गीतको पुरा शब्द :
फूलको थुँगा बहेर गयो गंगाको पानीमा
कहिले भेट होला है राजै यो जिन्दगानीमा ।
झरीको पछि झुल्केको घाममा निर चढ्यो पहाडको
भर्खर प्रीति बसेको बेला पीर पर्यो बिछोडको ।
नहाँसु भने सखीलाई पीर मै हाँसु कसरी
रुउँला राति भनेर आँसु मै साँचु कसरी ।
रातमा मलाई हेर्दछ टोलाई पूर्वको ताराले
त्यो कान्तिपुरमा सपनाको सुरमा सम्झ्यो कि प्याराले ।
४) लाग्दछ मलाई रमाइलो…
यशोदा पराजुली र लस्मति राईले गाएको यो गीत पनि घिमिरे नै लेखेका हुन् । यो गीत अहिलेसम्म उत्तिकै चर्चित र सान्दर्भिक छ । हरेक नेपालीको मन र मुटुमा बस्न सफल बनेको छ । गीतको पुरा शब्द यस्तो छ :
लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो
हिमालचुली मन्तिर पानी भर्ने पँधेरो ।
लेकै हेर्यो लाली गुराँस बेंसी हेर्यो प्याउली
पिरती बास्ने परेवा बिरह बोल्ने न्याउली
हिमाल छुन्छ बेलुकी सप्तर्षिको ताँतीले
जुनेली रात बिताउँछु गाउँदा गाउँदै साथीले ।
सम्झन्छु म हिउँचुली आँसुको ढिका खसाली
यो बिरानो मुलुकमा बस्दैन माया बसाली
वनमा घाम नलागे जगत सारा अँधेरो
नौडाँडाको पारीमा प्रीतिको देश छ मेरो ।
मेरो कान्ले लेकैलाई पाकेर जाने बादल
हातले मैले नछोए पनि छ कति कोमल
डर लाग्छ मलाई यही बादलु छायाँले
पार्दछ जहाँ इन्द्रेणी पाइला भिज्ने मायाले ।
यसका अलवा घिमिरेले सिर्जना गरेका ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे’, ‘सारङ्गी त रेटेपनि’, ‘आज भोलि दुख्दै’, ‘यो छायाँ छवी’, ‘पानी सिमसिम बर्सिएर’, ‘सय र पत्री’, ‘आयो बादल गर्जिएर’ जस्ता गीतहरु पनि लोकप्रिय छन् ।















प्रतिक्रिया