
छेन्दु, ७ असोज । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ चीनको छ दिने औपचारिक भ्रमण सकेर भोलि (सोमबार) स्वदेश फर्कँदैछन् । उनी एयर चाइनाको विमानबाट सोमबार बिहान ९ः४५ बजे काठमाडौं ओर्लनेछन् । उपराष्ट्रपति छ दिने भ्रमणका लागि असोज ३ गते छेन्दु आएका थिए ।
उपराष्ट्रपतिले चीन भ्रमणको क्रममा असोज ४ गते छेन्दुमा आयोजित ‘१७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’को उद्घाटन समारोह र बेल्ट एण्ड रोड सम्बद्ध मुलुकहरुको आर्थिक विकासका लागि सहकार्य सम्बन्धी सम्मेलनलाई सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा उनले नेपालमा लगानीका लागि चिनियाँ र सम्मेलनमा सहभागी राष्ट्रका व्यवसायीहरुलाई अपिल गरेका थिए ।
चीन भ्रमणको क्रममा उपराष्ट्रपतिसँग चीनका उपप्रधानमन्त्री हु छुन्ह्वा र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का सिचुवान प्रान्त सचिव छिङहुवाले शिष्टाचार भेट गरेका थिए । उपराष्ट्रपतिले असोज ३ गते उपप्रधानमन्त्री र असोज ५ गते सिपिसीका सिचुवान प्रान्त सचिवसँगको भेटमा दुई देशको सम्बन्धले नयाँ उचाई हासिल गरिरहेको बताएका थिए । उनले नेपाल समृद्धिको मार्गमा अगाडि बढेको उल्लेख गर्दै लगानी तथा सहकार्यका लागि आग्रह गरेका थिए ।












प्रतिक्रिया