लण्डन, ७ असोज । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेड वुल्भ्ससँग बराबरीमा रोकिएको छ ।
घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेड वुल्भ्ससँग १–१ को बराबरीमा रोकिएको हो । पहिलो हाफमै अग्रता लिएर पनि घरेलु टोली युनाइटेडले त्यसलाई जोगाउन सकेन र अंक बाँड्न बाध्य भयो ।
१८ औँ मिनेटमा फ्रेडको गोलबाट युनाइटेडले पहिलो हाफमा अग्रता लियो । तर दोस्रो हाफमा त्यो जोगिन सकेन । बढुवा भएर आएको क्लब वुल्भ्सका लागि ५३ औँ मिनेटमा जोआओ माउन्टिन्होले सुन्दर गोल गरे र खेलमा बराबरी भयो ।
खेलपछि युनाइटेडका प्रशिक्षक मोरिन्होले आफ्ना अट्याकिङ्ग प्लेअरबाट अलि राम्रो प्रदर्शनको खाँचो रहेको बताएका छन् । ६ खेलबाट १० अंक जोडेको म्यानचेस्टर युनाइटेड छैटौँ स्थानमा रहेको छ । ९ अंकसहित वुल्भ्स १० औँ स्थानमा छ । एजेन्सी















प्रतिक्रिया