
काठमाडौँ, ६ असोज । नेपाल भ्रमणमा रहेका बेलायती सांसद स्टेफन गेथिन्स नेपालका भूकम्पपीडितहरुको कथा सुनेर स्तब्ध भएका छन् ।
२०७२ सालको भूकम्पमा परेर चमत्कारिक रुपमा बाँचेका नेपालीहरुको कथामा बनेको चर्चित वृत्तचित्र फिल्म ‘भाग्यले बाँचेकाहरु’का पात्रहरुलाई प्रत्यक्ष रुपमा भेटेका सांसद गेथिन्स उनीहरुको कथा सुनेर स्तब्ध भएका हुन् । ‘यो मेरो नेपाल भ्रमणको सबैभन्दा उपलब्धिमुलक भेट भयो’– उनले भने ।

नेपालको एकसाता भ्रमणका लागि गत सोमबार काठमाडौं आइपुगेका गेथिन्सले शनिबारले शनिबार ‘भाग्यले बाँचेकाहरु’का पात्र दैलेखका रमेश खत्री, मकवानपुरकी प्रिया विश्वकर्मा र लमजुङकी बबिता सेढाईंलाई भेटेका थिए । काठमाडौंको नयाँ बसपार्कमा भूकम्पमा परेर खत्रीले दुवै खुट्टा गुमाएका थिए । यसैगरी, काठमाडौंको काभ्रेस्थलमा डेरा गरी बसेको घरले किच्दा विश्वकर्माको एउटा खुट्टा गुमेको थियो । सेढाई भने धरहराबाट खसेर बाँचेकी हुन् ।

‘भाग्यले बाँचेकाहरु’ टिमका तर्फबाट सांसद गेथिन्स, लिटिल शेर्पा फाउन्डेशनका जेम्स ल्याम्ब र वेस्टमिन्स्टर फाउन्डेशन फर डेमोक्रेसीका सिनियर कार्यक्रम अधिकृत एलेक्शजेन्डर सिमलाई शनिबार काठमाडौँमा सम्मान गरिएको थियो । सांसद गेथिन्सकै पहलमा गतवर्ष भूकम्पको दोस्रो वार्षिकी पारेर ‘भाग्यले बाँचेकाहरु’ बेलायतको संसदमा प्रदर्शन गरिएको थियो । ‘नेपालको वृत्तचित्र फिल्म बेलायतको संसदमा प्रदर्शन हुनु नेपालीका लागि पनि गौरवको विषय थिथो । नेपालको भूकम्प पीडितका विषयमा उनले देखाएको चासो, चिन्ता, ऐक्यबद्धताको कदर गर्दै हामीले सांसद गेथिन्स र उहाँको टिमलाई सम्मान गरेका हौँ,’ भाग्यले बाँचेकाहरुका निर्देशक गणेश पाण्डेले भने, ‘सांसद गेथिन्स निकै भावुक हुनुभयो ।’

२०७२ सालको भूकम्पको कथामा बनेको ‘भाग्यले बाँचेकाहरु’ले १७ वटा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको छ । यो बेलायतको संसदमा प्रदर्शन हुने पहिलो नेपाली वृत्तचित्र फिल्म पनि हो ।















प्रतिक्रिया