काठमाडौं, ८ माघ । संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुले संकल्प अनुसार जनतालाई संविधान दिन असफल भएका छन् ।
दोस्रो संविधानसभाको पहिलो बैठक बसेको एक वर्ष पूरा हुँदा पनि मुलुकले नयाँ संविधान त के त्यसको मस्यौदा पनि पाउन सकेन ।
बिहीबारको दोस्रो बैठकमा लगातार साढे तीन घन्टा नाराबाजी र अवरोधपछि सभाध्यक्ष सुवास नेम्वाङले संविधानसभाको अर्को बैठक माघ ९ गते शुक्रबार अपराह्न १ बजे बस्ने गरी आजको बैठक स्थगन गर्नुभयो ।
संविधान जारी हुनुपर्ने मध्यरातसम्म संविधानसभाको तनावपूर्ण बैठक जारी रहे पनि अबको कति समयपछि देशले जनचाहनानुसारको संविधान पाउनेछ भन्नेमा प्रमुख दलका शीर्ष नेताले जनतालाई विश्वस्त पार्ने सन्देश दिन सकेनन् ।
सहमति कि प्रक्रिया भन्ने विवादमा फसेको संविधानसभाका पछिल्ला चार दिनका बैठक एनेकपा माओवादी र मधेसकेन्द्रित दलका सभासद्को नाराबाजीका कारण कार्यसूचीमा नै प्रवेश नगरी अन्त्य भएका छन् । गत २०६९ जेठ १४ को मध्यरातमा संविधान जारी नभई पहिलो संविधानसभा स्वतः विघटन भएको दुःखद क्षण पुनः नदोहोरिएला भन्ने नेपाली जनता र अन्तर्राष्ट्रिय समुदायको विश्वासमा तुषारापात भएको छ ।
होहल्ला र नाराबाजीका बीच बिहीबारको बैठकको समापन गर्दै सभाध्यक्ष नेम्वाङले राजनीतिक दलद्वारा व्यक्त प्रतिबद्धतालाई मूर्तरुप दिनुपर्नेमा आपसी तिक्तता तथा समझदारी र सद्भावमा बढेको रिक्तताले संविधानसभाको मर्यादा र गरिमामा आँच पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानसभामा प्रतिनिधित्व गरेका राजनीतिक दलहरूको प्रतिबद्धताको बाबजुद एक वर्षको समयावधिभित्र संविधान निर्माण हुन नसकेकोमा म अत्यन्त मर्माहत र दुःखित छु ।”
संविधानतः जनताबाट चारवर्षका लागि निर्वाचित संविधानसभाबाट संविधान निर्माणका लागि आजको दिन अन्तिम नभएको तथा हुन पनि नसक्ने बताउँदै सभाध्यक्ष नेम्बाङले नेपाली जनता र विश्वसामु गरिएको प्रतिबद्धता, नैतिकता र इमान्दारीको कसीमा दलहरु अचुक रहनुपर्ने बताउनुभयो । “जनता र विश्वले हामीलाई नकारात्मक दृष्टिले हेर्ने र हाम्रो विश्वसनीयताप्रति सदैव आशङ्का रहिरहनेछ ”, उहाँले भन्नुभयो– “यसतर्फ हामी सबैको गम्भीर ध्यान जानु पर्नेमा त्यसो हुन नसकेको प्रस्ट छ । ”
संविधानसभाको अध्यक्षको हैसियतले आफूले संविधानसभाभित्र र बाहिर रहेका दल र तिनका नेतासहित सबैमा सहिष्णुता, सद्भाव र सहकार्यमा जोड दिँदै सहमतिमा नै राष्ट्रको मूल कानुन निर्माणको प्रयास गरेको बताउँदै उहाँले प्रक्रियामा जाँदा पनि सहकार्य र सहमतिमा नै संविधान जारी हुनसक्ने अवस्था जीवन्त र सशक्त रहेको आफ्नो विश्लेषण सुनाउनुभयो ।
“नेपाली जनताले अपेक्षा गरेको संविधानको निर्माण संविधानसभाको एकमात्र कार्यभार भएको र त्यसलाई पूरा गर्न ‘संविधानसभालाई अवरुद्ध गरेर होइन क्रियाशील गराएर मात्र सम्पन्न हुने स्पष्ट छ,” पहिलोपटक संविधानसभामा भएको अवरोधले सबै प्रकारका विधिसम्मत प्रक्रियालाई निषेध गर्ने बताउँदै अध्यक्ष नेम्वाङले भन्नुभयो ।
उहाँले संविधानसभाको सर्वोच्चता र स्वायत्तताविरुद्धका गतिविधि तत्काल बन्द गरी विधिसम्मत प्रक्रियाबाट आफ्ना सरोकार अभिव्यक्त गर्न आग्रह गर्दै संविधानसभाको अवरोध अन्त्य गर्न प्रश्नावली समिति गठन प्रक्रियाको विपक्षमा रहेका एनेकपा माओवादी र मधेसवादी दलका नेताहरूसँग आग्रह पनि गर्नुभयो ।
आधा घन्टाका लागि स्थगन भएको दोस्रो बैठक सात घन्टापछि सुरु भएको थियो । बैठकमा नाराबाजीबाट आजित भएका प्रक्रियाको पक्षमा रहेका सभासद्ले बेलाबेलामा टेबुल थप्थपाएर उनीहरूका आवाजलाई दबाउने प्रयास गरेका थिए । सभामुखले मन्तव्य व्यक्त गरिरहँदा उनीहरूले ठूलो स्वरले त्यसको समर्थन गरेका थिए भने विपक्षीको नाराबाजी सुनिएको थिएन, यद्यपि उनीहरू त्यसो गरिरहेका थिए ।
प्रचण्डले माफी मागे
संविधानसभा बैठकबाट बाहिरिँदै एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान आउन नसकेकोमा माफी माग्नुभएको छ ।
विगतका सम्झौतालाई उल्टाएर सत्तारुढ दलले प्रतिगामी संविधान ल्याउन खोजेका कारण आफूहरुले अवरोध गरेको उहाँले बताउनुभयो । प्रतिगामी सफल हुन नदिएर आफूहरु सफल भएको उहाँको तर्क थियो ।
















प्रतिक्रिया