४ कार्तिक २०८३, बुधबार

काँग्रेसलाई टोक्ने अरिंगालको आवश्यकता छ : योगेश भट्टराई

20.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ३ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का स्थायी समिति सदस्य योगेश भट्टराईले नेपाली काँग्रेसलाई टोक्ने अरिंगालको आवश्यकता रहेको बताएका छन् ।

नसाका बिरामीका लागि अरिंगाल औषधी समेत हुने प्रसंग निकाल्दै भट्टराईले लामो समय सत्ता बसेको काँग्रेसको उपचार गर्न पनि अरिंगाल बन्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।

बुधबार काठमाडौँमा भएको एक कार्यक्रममा प्रतिनिधिसभाका सदस्य समेत रहेका भट्टराईले भने, ‘अरिंगाल औषधी पनि हो । लामो समय सत्तामा बस्दा काँग्रेसका नसामा समस्या छ, एक/दुई वटा अरिंगालले टोकाउने हो भने सञ्चो हुन्छ, यसका लागि पनि हामी अरिंगाल बन्नुपर्ने छ ।’

केहीदिन अघि नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकारकाविरुद्ध अनर्गल प्रचार भइरहेको भन्दै अरिंगाल जसरी प्रतिवादमा उत्रिनुपर्ने बताएका थिए ।

अरिंगालको गोलो चलाउने हो भने त्यहाँ भएका सबै अरिंगाल प्रतिवादमा उत्रने गर्छन् । सोही प्रसंग जोड्दै ओलीले आफ्ना नेता, कार्यकर्तालाई अरिंगाजस्तै सरकार र पार्टीविरुद्ध भएका गलत प्रचारका विरुद्ध लाग्न निर्देशन दिएका थिए । त्यसलगत्तै प्रमुख प्रतिपक्ष दल काँग्रेसले त्यसको आलोचना गरेको थियो ।

बुधबार सोही कार्यक्रममा पनि नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाका कार्यकर्तालाई अरिंगाल बन्न निर्देशन आएकाले आफू धेरै नबोल्ने भन्दै टिप्पणी गरेका थिए । विश्वप्रकाश बोल्दा मुस्कुराईरहेका योगेशले आफ्नो बोल्ने पालोमा त्यसको जवाफ दिएका हुन् ।

केही व्यक्तिको असहमतिलाई जनताको असहमति भन्न मिल्दैन

कार्यक्रममा नेता भट्टराईले केही राजनीतिक दल वा नेताहरुको असहमतिलाई सिंगो जनताको असहमति भनेर संविधानको अपव्याख्या गर्न नहुने बताएका छन् । संविधानप्रति असहमति जनाउने दल र नेताहरु नै संविधानले व्यवस्था गरेको निर्वाचन प्रणालीमा सहभागि भइ राज्यका संयन्त्रमा पुगेको उनले स्मरण गराए ।

भट्टराईले नेपालको संविधान शतप्रतिशत जनताको संविधान भएको दाबी गरे । उनले अहिलेको संविधानले अर्काे शताब्दीलाई समेत मार्गनिर्देशन गर्ने दाबी पनि गरे । ‘हामीले विशेष परिस्थितिमा यो संविधान बनाएका हौँ, यसले आउँदो शताब्दीलाई पनि मार्गनिर्देशन गर्छ भन्ने मेरो दाबी छ’, भट्टराईले भने, ‘केही धारा, उपधारा संशोधन हुन सक्छ, हुँदै जान्छन् तर, यो शतप्रतिशत जनताको संविधान हो ।’

उनले संविधानका विषयमा देखिएका असहमतिहरु समयक्रमसँगै पुरा हुँदै जाने पनि बताए । ‘कुनै दल वा नेताको असहमतिलाई सिंगो भूगोल वा जनताको असहमति हो भन्न सकिदैन, भन्नु पनि हुँदैन’, भट्टराईले भने ।

पहिलो संविधानसभा असफल हुँदा पनि आफूहरुले हार नखाएर दोस्रो संविधानसभामार्फत संविधान जारी गरेको स्मरण गर्दै नेता भट्टराईले यसमा नेपाली जनता, सञ्चारमाध्यम र राजनीतिक दलको ठूलो भूमिका रहेको बताए । संविधानको व्यवस्था अनुसार राजपा नेपाल निर्वाचनमा जानु, राज्यका संयन्त्रमा पुग्नु पनि संविधाको उपलब्धीका रुपमा भट्टराईले व्याख्या गरे ।

लोकतन्त्रको ट्याग भिरेर मात्र हुँदैन

नेता भट्टराईले नेकपा नेतृत्वको सरकार प्रेस स्वतन्त्रताका पक्षमा पूर्ण रुपमा प्रतिवद्ध रहेको स्पष्ट पारे । अभिव्यक्ति स्वतन्त्रता, सम्पादकीय स्वतन्त्रता, राजनीतिक दल खोल्न पाउने स्वतन्त्रता लगायतमा आफूहरु प्रतिवद्ध रहेको भट्टराईले दोहो¥याए । उनले संविधानको भावना अनुसार चल्ने कुनैपनि सञ्चारमाध्यममा प्रतिवन्ध नहुने पनि जनाए ।

आफूलाई लोकतन्त्रवादीको ट्याग लगाएका दल, सरकार वा देशले पनि प्रेस स्वतन्त्रताको रक्षा गर्न नसकेको स्मरण गर्दै उनले व्यवहारमा पनि लोकतन्त्र देखिनु जरुरी रहेको बताए । नेकपाको सरकार व्यवहारमा समेत लोकतान्त्रिक हुने उनको भनाई छ । ‘म कुनै दल, सरकार वा देशको नाम लिन चाहान्न, आफूलाई लोकतन्त्रको ट्याग झुण्ड्याएर मात्र हुँदैन, व्यवहार पनि त्यही अनुसार हुनुपर्छ’ भट्टराईले भने, ‘लोकतान्त्रिक भनिएका देशहरुमा पनि पत्रकारहरुको हत्या भएको छ, हामी नेपालमा त्यसो हुन दिदैनौँ ।’

नीजि लेनदेनको विषय, अपराध वा संविधानप्रतिकुल हुने विषय प्रेस स्वतन्त्रतासँग जोड्न नहुने उनले बताए । प्रत्येक सञ्चारमाध्यमले स्वनियम बनाएर अघि बढे प्रेस स्वतन्त्रताको समस्या समाधान हुने पनि नेता भट्टराईको सुझाव छ ।