१ कार्तिक २०८३, शनिबार

अमेरिका र क्युबाबीचको सम्बन्धमा ह्रास–क्युबाली राष्ट्रपति कनेल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हवाना, १ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शासनकालमा क्युबा र संयुक्तराज्य अमेरिकाबीचको सम्बन्धमा ह्रास आएको क्युबाका राष्ट्रपति मिगेल डायाज–कनेलले बताउनुभएको छ ।

“दुई देशबीचको सम्बन्धमा अहिले ह्रास आएको छ । हामीले अझै पनि संवादको पहल जारी राखेका छौं र हामीले कुनै पनि बखत संवादको सम्भावनालाई खारेज गरेका छैनौं, तर यो समानताका आधारमा हुनु पर्दछ,” डायाज कनेलले टेलिसुर टेलिभिजन च्यानलमा अन्तर्वार्ता दिँदै बताउनुभयो । कार्यकाल सम्हालेयता यस वर्ष उहाँको यो नै पहिलो अन्तर्वार्ता हो ।

अमेरिकी राष्ट्रपतिका रुपमा ट्रम्प विजयी भएसँगै पूर्व राष्ट्रपति बाराक ओबामाले शुरु गर्नुभएको ऐतिहासिक कुटनीतिक संवादमा कमी भइरहेको छ । डायाज–कनेलले क्युबामाथि अमेरिकी आर्थिक प्रतिबन्ध नाजायज रहेको बताउँदै अमेरिकी प्रतिबन्ध नै मुलुकको विकासका लागि मुख्य बाधक रहेको उल्लेख गर्नुभयो ।

उहाँले अमेरिकी कुटनीतिज्ञलाई प्रभावित तुल्याउने गरी भएको रहस्यमय “स्वास्थ्य आक्रमण” मा क्युबाको कुनै भूमिका नरहेको बताउँदै भन्नुभयो, “हामीले कसैलाई पनि आक्रमण गरेका छैनौं ।” स्वास्थ्य आक्रमणबाट पीडित भएका कुटनीतिज्ञहरुमा मस्तिष्कमा घाउचोट देखिएको र सुन्ने क्षमता कमजोर भएको पाइएको छ ।

सोही अन्तर्वार्तामा डायाज–केनेलले समलिङ्गी बिबाहलाई मान्यता दिन आफू तत्पर रहेको बताउनुभयो । डायाज–केनेलले वर्षौंदेखि सत्ता चलाइरहेका क्यास्ट्रो परिवारको हातबाट गत अप्रिलदेखि राष्ट्रपतिको कार्यभार लिनुभएको थियो । –रासस/एएफपी