काठमाडौं, ३१ भदौ । ३२ वर्षे उमेरहद हटाउने नेपाल विद्यार्थी संघको प्रस्तावलाई मातृ पार्टी कांग्रेसले सदर गर्ने संकेत गरेको छ । संघका ६ जना पदाधिकारी रहेको समितिले सर्वसम्मत रूपमा उमेरहद हटाउने प्रस्ताव गरेपछि कांग्रेसले सदर गर्ने संकेत गरेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
‘संघले केन्द्रीय समितिको बैठक र ६ जनाको समितिबाट सर्वसम्मत रूपमा विधान र नियमावली पार्टीलाई बुझाएको छ’ सभापति शेरबहादुर देउवानिकट एक केन्द्रीय सदस्यले भने, ‘सर्वसम्मत बुझाएको अवस्थामा पार्टीले किन परिवर्तन गर्ने भन्ने पनि छ ।’ नेविसंघलाई कात्तिकको दोस्रो सातामा १२औँ महाधिवेशन गर्ने बाटो खुलाउन २ असोजभित्र आकस्मिक रूपमा केन्द्रीय समितिको बैठक राखिने ती नेताले जानकारी दिए ।
२३ देखि २५ भदौसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकबाट नेविसंघले १२औँ महाधिवेशन १६ देखि १८ कात्तिकमा गर्ने निर्णय गरेको थियो । सोही बैठकले विधानबाट ३२ वर्षको उमेरहद हटाएको हो । अब पदाधिकारीमा निर्वाचन लड्न ३२ वर्ष नाघेका नेता पनि योग्य हुनेछन् ।
सह–महामन्त्री साधना घिमिरेले उमेरहदको विषयमा केही नेताको स्वार्थ गाँसिएको बताइन् । ‘३२ वर्षे उमेरहद अघिल्लो महाधिवेशनबाटै लागू गरिएको भए के बिग्रन्थ्यो । पहिले जसरी हुन्छ आफू पदाधिकारी बन्न खोजे,’ उनले भनिन्, ‘अब नयाँ नेतालाई बाटो खोल्नुपर्नेमा फेरि आफूहरूले नै गरेको सहमतिबाट पछाडि फर्कँदै उमेरहद हटाउने स्वार्थमा एक भएका छन् । यसले नेविसंघलाई राम्रो गर्दैन ।’
उनले उमेरहद हटाए १२औँ महाधिवेशन फेरि अन्योलमा पर्ने बताइन् । उमेरहद हटाउन संस्थापन, रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षका सबै विद्यार्थी नेता मिले पनि ३२ वर्षभन्दा कम उमेरका अधिकांश नेता असन्तुष्ट छन् । पार्टीले उमेरहद हटाए अनशन बस्नेसम्मको तयारीमा नेताहरू छन् ।
नेविसंघमा अधिकांश पदाधिकारी ३२ वर्षभन्दा माथिका छन् । त्यसैले उमेरहद हटाउनुपर्ने पक्षमा सबै एकमत छन् । अध्यक्ष नैनसिंह महर सकेसम्म विवादमा नआउने पक्षमा छन् । महाधिवेशन गर्न आफूले पहल गरेर मिलाएको सन्देश दिने चाहना उनमा छ ।
भित्री रूपमा उमेरहद हटाउन नहुने पक्षमा भए पनि पौडेल र सिटौला पक्षका पदाधिकारीहरूले आँट दिएपछि उनले पनि उमेरहद हटाउने पक्षमा विधानको मस्यौदा माउ पार्टीलाई बुझाउन तयार भएको उनीनिकट स्रोत बताउँछ ।
उमेरहद लागू हुुनुपर्छ र नयाँलाई नेविसंघमा अवसर दिनुपर्छ भन्ने पदाधिकारीहरूमा महामन्त्री आनन्द त्रिपाठी, उपाध्यक्ष सागर परियार, पवन यादव, सहमहामन्त्री साधना घिमिरे, अम्बिका चलाउने, प्रेम जोशी, प्रकाश घिमिरेसहित छन् ।
नेविसंघको सिफारिसविपरीत कांग्रेसले ३२ वर्षे उमेदरहद लागू गरे १२औँ महाधिवेशन नै हुन नसक्ने नेविसंघका एक पदाधिकारी बताउँछन् । ‘हामी सबै मिलेर बल्ल महाधिवेशन गर्न तयार भएका हौँ,’ ती पदाधिकारीले भने, ‘उमेरहद हटाउँदा महाधिवेशन हुन्छ भने हटाऔँँ भनेर हामी सबै लागेका हौँ । पार्टीले उमेरहद कायम राख्यो भने महाधिवेशन हुने सम्भावना कम छ ।’
उमेरहद हटाउने र तिहारको मुखमै महाधिवेशन गर्ने घोषणा भएपछि १२औँ महाधिवेशन गर्न नै गाह्रो देखिएको छ । १६ देखि १८ कात्तिकमा १२औँ महाधिवेशन तोकिएको छ । महाधिवेशन नगर्न तिहारको आसपास मिति तोकिएको एक नेताले दाबी गरे । ‘उमेरहद हटाउँदा महाधिवेशन गर्छौं भनेर दाबी गरे पनि महाधिवेशन हुने छाँट छैन,’ ती नेताले भने ।















प्रतिक्रिया