काठमाडौं, ३० भदौ । सुतिरहेका वेला दिदीबहिनीमाथि एसिड प्रहार गरी फरार आक्रमणकारीलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।
रौतहटको चन्द्रपुर नगरपालिका–६ बजारटोलकी १८ वर्षीया सम्झना दास र उनकी १५ वर्षीया बहिनी सुस्मितामाथि गत मंगलबार मध्य रात एसिड प्रहार भएको थियो । तर, चार दिन बित्दासमेत घटनामा संलग्न पक्राउ परेका छैनन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
एसिड आक्रमणबाट घाइते भएका दिदीबहिनीको काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । उपचारका लागि आर्थिक समस्या भएपछि उनका अभिभावकले सहयोगको आग्रह गरेका छन् ।
चन्द्रपुरमा विभिन्न समूह र व्यक्तिले उपचारका लागि आर्थिक सहायता जुटाउने प्रयास गरिरहेका छन् । आर्थिक अवस्था नाजुक रहेका दिदीबहिनीको उपचारका लागि आर्थिक सहयोग जुटाउने काम भइरहेको महिला अधिकारकर्मी देवकी नेपालले जानकारी दिइन् ।
पीडितका बाबु जादोलाल दासले सुतिरहेका आफ्ना छोरीहरूमाथि आक्रमण भएको तर, यतिका दिनमा पनि अपराधी पक्राउ पर्न नसकेको भन्दै चिन्ता व्यक्त गरे ।
तर, डिएसपी युवराज खड्काले घटनाको अनुसन्धान भइरहेको तथा फरार अपराधीको खोजी भइरहेको दाबी गरे । नागरिक अगुवा तथा राजनीतिक दलका नेता–कार्यकर्ताले घटना भएको चार दिन बित्दासमेत प्रहरीले आक्रमणकारीको पहिचान गर्न नसक्नु दुःखलाग्दो कुरा भएको बताएका छन् ।















प्रतिक्रिया