२८ आश्विन २०८३, बुधबार

छोरालाई मन्त्री बनाएपछि थापा संकटमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sunil-Thapaकाठमाडौं, २५ चैत । छोरा सुनीललाई मन्त्री बनाएपछि राप्रपा अध्यक्ष सूर्यबहादुर थापा पार्टीभित्र संकटमा परेका छन् । राप्रपाभित्र उनीविरुद्ध खुला मोर्चाबन्दी सुरु भएको छ ।

असन्तुष्ट नेताहरूले अध्यक्ष थापालाई संसदीय दलको नेता नबनाउने निर्णय गरेका छन् । राप्रपाका असन्तुष्ट नेताहरूले लोकेन्द्रबहादुर चन्दको निवास लोकन्थली र बालुवाटारस्थित विक्रम पाण्डेको निजी कार्यालयमा सोमबार बैठक गरेर थापालाई नेता चयन नगर्ने निर्णय गरेका हुन् । राप्रपामा औपचारिक रूपमा संसदीय दलको चुनाव भएको छैन । अध्यक्ष थापाले नै दलको नेताका रूपमा काम गर्दै आएका छन् ।

पार्टीभित्र कसैसँग सल्लाह नगरी अध्यक्ष थापाले छोरा सुनील र गिरीबहादुर केसीलाई मन्त्री बनाएको भन्दै असन्तुष्ट नेताहरूले चर्को विरोध गरेका छन् । अध्यक्ष थापाका निकट मानिएका विक्रम पाण्डेले पार्टीको विधि, विधान र पद्धति उल्लंघन गरेर थापाले छोरालाई मन्त्री बनाएको आरोप लगाए ।

‘पार्टी विधि, विधान र पद्धति उल्टाएर मन्त्री बनाइएको छ,’ पाण्डेले भने, ‘यसको छिनोफानो गर्न पार्टीको केन्द्रीय समितिको बैठक तत्काल बोलाइनुपर्छ ।’ अध्यक्ष थापा वैधानिक रूपमा संसदीय दलका नेता नभएको भन्दै उनी दलका नेता हुने सम्भावना अब कम रहेको पनि उनले बताए । उनले भने, ‘पार्टी अध्यक्षज्यू वैधानिक रूपमा संसदीय दलका नेता हुनुहुन्न र अब पनि चुनिनुहुन्न ।’ असन्तुष्ट नेताहरूले पार्टीका महामन्त्री दीपक बोहरालाई संसदीय दलको नेता बनाउनुपर्ने माग गरेका छन् ।

राप्रपा नेता डा। प्रकाशचन्द्र लोहनीले शनिबार नै प्रेस विज्ञप्ति जारी गरी पार्टी अध्यक्षले वैधानिकता र प्रक्रिया नाघेर मन्त्री छनोट गरेको आरोप लगाएका छन् । असन्तुष्ट नेताहरूले मंगलबार पनि बैठक बसेर थप रणनीति बनाउने भएका छन् ।

यसैबीच, राज्यमन्त्रीमा नियुक्त केसीले पार्टीका असन्तुष्ट नेताहरूलाई भेटेर अध्यक्ष थापाले संवाद गर्नुपर्ने बताए । ‘असन्तुष्टहरूसँग पार्टी अध्यक्षले भेटेरै छलफल गर्नुपर्छ, उहाँहरूको कुरा सुन्नुपर्छ । म पनि सहयोग गर्न तयार छु,’ उनले भने । राप्रपाका तर्फबाट मन्त्री भएका सुनील सुडानको संयुक्त राष्ट्रसंघको कार्यालयमा लामो समयसम्म जागिरे थिए । केही वर्षअघि मात्रै उनी स्वदेश फर्केका हुन् ।

पहिलो बधाई श्रीमान् र बाबुबाट

प्रधानमन्त्री सुशील कोइरालाले सोमबार राप्रपा र नेकपा (माले)लाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । राप्रपाबाट सुनील थापा वाणिज्य तथा आपूर्तिमन्त्री र गिरीबहादुर केसी राज्यमन्त्री नियुक्त भएका छन् । मालेकी निलम खड्का महिला बालबालिका तथा समाज कल्याणमन्त्री नियुक्त भएकी छिन् ।

खड्का माले महासचिव सिपी मैनालीकी पत्नी हुन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार मन्त्री पदको शपथग्रहणलगत्तै खड्का सरासर आफ्नो श्रीमान् मैनाली बसेको स्थानमा गइन् । खादासहित पहिलो बधाई श्रीमान्बाट पाएपछि मात्रै उनले अरूको बधाई लिएकी थिइन् ।

यसैगरी, सुनील राप्रपा अध्यक्ष सूर्यबहादुर थापाका छोरा हुन् । उनले मन्त्री पदको शपथ लिएलगत्तै पहिलो बधाई बाबुबाटै लिए । शपथग्रहण कार्यक्रममा सुनीलका छोरा सिद्धार्थ पनि सँगै गएका थिए । हजुरबुबाले बधाई दिएपछि छोरा सिद्धार्थले बाबुलाई बधाई दिएका थिए ।

शपथग्रहण कार्यक्रममा राप्रपा अध्यक्ष थापाबाहेक अन्य नेता गएका थिएनन् । राप्रपाका वरिष्ठ नेता पशुपतिशमशेर राणासमेत शपथग्रहण कार्यक्रममा गएनन् । आफू अर्कै कारणले शपथग्रहण कार्यक्रममा नगएको उनले बताए । कार्यक्रममा राप्रापाका नेता राणा र लोकेन्द्रबहादुर चन्दलाई आमन्त्रण गरिएको थियो ।

राप्रपाबाट राज्यमन्त्री भएका गिरीबहादुर केसीको शपथ सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा सोमबारै भएको छ । केसी राप्रपाका महामन्त्री दीपक बोहराका भिनाजु हुन् । नयाँ पत्रिका दैनिकबाट