
रसुवा, २८ भदौ । यही भदौ २५ गतेदेखि अवरुद्ध धुञ्चे–स्याफ्रुबीच खोपाङ भिरको राजमार्ग सञ्चालनमा आएको छ । डिभिजन सडक कार्यालयका इञ्जिनियर सरोज कडरियाका अनुसार भारी वर्षाका कारण पहिरो गई करीब १ सय मिटर राजमार्ग सतहमा बसेको ठूलाठूला ढुङ्गा पन्छाइ आजदेखि नेपाल–चीनबीचको अन्तर्राष्ट्रिय राजमार्ग सञ्चालन गरिएको हो ।
पहिरो पन्छाउन डिभिजन सडक कार्यालयमा रहेका दुई वटा लोडर तथा डोजरले मात्र ठूला ढुङ्गा फ्याँक्ने क्षमता नपुगेका कारण रसुवाबाट प्रतिनिधित्व गर्ने संसद् मोहन आचार्यको सहयोगमा रसु्वा कन्स्ट्रक्सन प्रालिले पठाएको २ सय २० सिसीको स्काभेटरको सहायताले तीन दिनको प्रयासमा सडक खुलाउन सफल भएको प्राविधिकले बताएका छन् ।
उक्त ठाउँमा यही भदौ २ गते ठूलो पहिरो जाँदा भदौ १८ गते सञ्चालन भएको स्थानमा पुनः पहिरो गएको बताउँदै सडक कार्यालयका प्राविधिक अपरेटर निमा लामा र राजेश दाहालले जोखिमयुक्त क्षेत्रमा सतर्क हुन चालकलाई आग्रह गरेका छन् । यस वर्ष राजमार्ग पहिरो हटाउन स्वतः स्फुर्तरुपमा स्काभेटर उपलब्ध गराई सहयोग गर्नुहुने रसुवागढी जलविद्युत् आयोजनाका साथै पूर्वसांसद जनार्दन ढकाल र वर्तमान संसद् मोहन आचार्यलाई प्रजिअ कृष्ण पौडेलले धन्यवाद व्यक्त गर्नुभयो ।
गत साउन ९ गतेदेखि अहिलेसम्म सडक अवरुद्ध भइरहँदा डेढ अर्बभन्दा बढी राजश्व नोक्सान परेको भन्सार कार्यालय टिमुरेले जनाएको छ । बिहीबार राजमार्ग खुलेलगत्तै २ सय भन्दाबढी सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेको र बढ्दो सवारी चापको व्यवस्थापनका लागि ठाउँठाउँमा ट्राफिक व्यवस्थापन मजबुद बनाइएको ट्राफिक प्रहरी इञ्चार्ज नवराज खड्काले बताउनुभयो ।
वर्षाको कारण बेत्रावती रसुवागढी राजमार्गको ठाउँठाउँमा खाल्टाखुल्टी धेरै भएको र पहिरो क्षेत्रको व्यवस्थापनपश्चात् क्रमशः सुधार गर्दै लगिने सडक इञ्जिनियर सरोज कडोरियाले बताउनुभयो । –रासस












प्रतिक्रिया