२१ कार्तिक २०८३, शनिबार

रक्षामन्त्री र कोरियन राजदूतबीच शिष्टाचार भेटवार्ता

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ भदौ । नेपाल स्थित दक्षिण कोरियाका राजदूत पार्क योङ सीकले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग शिष्टाचार भेट गरेका छन् । भेटका अवसरमा नेपाल र दक्षिण कोरिया बीचको कुटनीतिक सम्बन्ध, सरकारका कार्ययोजना, आर्थिक विकास, दुई मुलुकका बीचको सैन्य तालिम तथा सहकार्य एवं प्रविधि हस्तान्तरण लगायतका विषयमा छलफल भएको छ ।

राजदूतले नेपाल र कोरियाबीचको सम्वन्ध सुदृढ गर्दै सैन्य क्षेत्रमा दुई देशबीच भैरहेको तालिमको आदानप्रदानले दुवै देश लाभान्वित भएको बताए । उनले भविष्यमा पनि यस प्रकारको तालिमको आदानप्रदान निरन्तर हुने विश्वास व्यक्त गर्दै नेपाली सेनाका लागि आवश्यक पर्ने गोली गठ्ठा उत्पादन गर्ने प्लान्ट स्थापना गर्न चालिएको प्रकृया अगाडी बढिसकेको सन्दर्भमा केही विलम्व भएको भन्दै रक्षामन्त्रीबाट थप पहलको अपेक्षा गरे ।

त्यस्तै दुई पक्षीय सैन्य सहयोगका लागि स्टाफ कलेजमा तालिम आदानप्रदान गर्ने विषयमा समक्षदारी प्रक्रिया अघि बढिसकेको बताउदैं राजदूत सीकले विश्व शान्ति स्थापनार्थ नेपाली सेनाको योगदान मुक्तकण्ठले प्रशंसा गर्दै विश्व शान्ति कायम गर्ने कुरामा नेपाली सेनाले अझ उत्कृष्ट कार्य गर्ने विश्वास व्यक्त गरे । यसै सन्दर्भमा राजदूत सीकले कोरियाले नेपाली सेनासँग सहकार्य गर्ने चाहिरहेको बताउदै मित्रताको भावलाई अझ परिष्कृत गर्ने चाहेको बताए ।

भेटमा रक्षामन्त्री पोखरेलले राजदूतलाई शिष्टाचार भेटको लागि धन्यवाद व्यक्त गर्दै नेपाल र दक्षिण कोरियावीचको सम्वन्ध प्रगाढ रहेको बताए । नेपाल लामो संक्रमणपछि विकास र स्थायित्वतर्फ अघि बढिरहेको बताउदै विगतमा जस्तै आगामी दिनमा पनि दक्षिण कोरियाको सहयोग निरन्तर हुनेमा विश्वास व्यक्त गरे ।

उनले सैन्य क्षेत्रको सदृढिकरणका निम्ती दुई देशबीच सम्पन्न भएका सम्झौता शिघ्र कार्यन्वयनमा ल्याउने विश्वास दिलाए । गोलीगठ्ठा उत्पादन गर्न प्लान्ट जडान स्थापना गर्ने सन्दर्भमा मन्त्रीपरिषदबाट विलम्व भएको महसुस भएको बताउदै सरकार यस कुरामा सकारात्मक रहेको बताए ।

उनले राजनीतिक परिवर्तनले केही विलम्व भएको बताउँदै यसको अवधारणा आफैमा राम्रो रहेको र यो साझा सरोकारको विषय रहेको बुझिदिन आग्रह गरे । कोरियाली सेनाले नेपालमा हाई अल्ट्युचिड माउण्टेन वारफेयर ट्रेनिङ लिने गरिरहेको बताउदै यसलाई निरन्तरता दिइने बताए । साथै, कोरियाद्धारा नेपालको आर्थिक सहयोगको क्षेत्रमा राम्रो योगदान हुँदै आएको बताउँदै सैन्य क्षेत्रमा प्राविधिक सहयोगको अपेक्षा गरेको बताए ।