४ कार्तिक २०८३, बुधबार

मन्त्री हटाउने हल्लाले ‘ओली–बादल’ एकजुट, यस्तो बन्यो समीकरण

112.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । दुई तिहाई बहुमत प्राप्त नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारको नेतृत्व आधा आधा बाँड्ने अध्यक्षद्वयको ‘भद्र सहमति’ लागू नहुने स्थिति देखिएपछि एकाएक पार्टीभित्रैबाट मन्त्री फेरबदल हुने हल्ला चलाएर सरकारलाई झन् कमजोर पार्न खोजिएको निश्कर्षमा प्रधानमन्त्री केपी ओली निकटका नेताहरूको रहेको छ ।

मन्त्रिमण्डलका केही मन्त्रीहरू फेरबदल हुने हल्ला चलाएर दुई तिहाई बहुमत प्राप्त सरकार नेतृत्वलाई असफल पार्ने ‘षड्यन्त्र’को सुइको पाएपछि प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले एकाएक एउटै स्वरमा मन्त्रिमण्डल परिवर्तन नहुने धारणा सार्वजनिक गरेका छन् ।

मन्त्रिमण्डलका सदस्यहरू फेरबदल गर्दा पहिलो नम्बरमा गृहमन्त्री थापा परेको भनि समाचारहरू सम्प्रेषण भएका थिए । जो हटाइने पहिलो लिस्टमा रहेका गृहमन्त्री र प्रधानमन्त्रीले त्यसको सिधै खण्डन गरेका छन् ।

नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमण जानुअघि केही पत्रकारहरूसँग मन्त्रिमण्डलका केही सदस्यहरू फेरबदल गर्न सकिने संकेत गरेका थिए । तर, प्रचण्ड भारत रहेकैबेला प्रधानमन्त्री ओली र गृहमन्त्री थापाले मन्त्रिपरिषद् सदस्यहरू फेरबदल नहुने भनि प्रतिवाद गरे ।

‘प्रधानमन्त्रीले मन्त्रिपरिषद् फेरबदल बारे जे भन्नुभयो त्यही हो’ बरु प्रचण्डले स्वदेश फर्किनेबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूलाई जवाफ दिए । केही घट्नाक्रमहरूलाई लिएर गृहमन्त्री थापाको चर्को आलोचना भइरहेको बेला उनलाई नै सरकारबाट फिर्ता बोलाउने भन्ने प्रचार बाहिर गरिएको थियो ।

प्रधानमन्त्री र गृहमन्त्रीले मन्त्रिपरिषद् सदस्यहरू फेरबदल नहुने जिकिर गरे पनि आज (बुधबार) हुने सचिवालयमा गृहमन्त्री थापाप्रति आक्रमण हुने संकेत भने प्रष्टैछ । ‘लामो समय भयो सचिवलाय न बसेको । स्वभाविक रुपमा सचिवालयमा सरकारले गरेका क्रियाकलापबारे गम्भीर समीक्षा हुन्छ’, एकजना सचिवालय सदस्यले भने, ‘दोष र गुणका आधारमा समाजमा अहिले घटेका घट्नाले जसरी जनतामा निराशा आएको छ, त्यसको जिम्मेवारी सम्बन्धित मन्त्री र सरकार नेतृत्वले लिनुपर्छ ।’

प्रचण्डले भारत भ्रमण जानुअघि सरकारको क्रियाकलाप बारे गम्भीर समीक्षा हुने बताएका थिए । मन्त्री फेर्ने संकेत गरेपनि कुन मन्त्री भन्ने संकेत गरेका थिएनन् । तर, धेरैको अड्कलबाजी गृहमन्त्री भन्ने नै थियो । प्रचण्डले गृहमन्त्री थापालाई हटाएर ‘रिक्स’ मोल्न नचाहेको बताए पनि दुई वर्षपछि सरकारको नेतृत्व फेरबदल हुने उनी निकटहरुसँग बताएको स्रोतले बतायो ।

प्रधानमन्त्री ओलीले एउटै पार्टीभित्र सरकार नेतृत्वका लागि किन आलोपालो गर्ने ? सरकार नेतृत्प फेरबदल हुन्न भन्ने सन्देश आफू निकटका नेताहरूसँग पु¥याएपछि पार्टीभित्रको समीकरण एकाएक बदलिएको स्रोतको भनाइ छ । जुन घट्नाले प्रधामन्त्री र गृहमन्त्रीबीच सम्बन्धको गाँठो झन् कस्सिएको छ । सरकारलाई मजबुद बनाउने सवालमा मात्रै प्रधानमन्त्री ओली र गृहमन्त्री थापा एक भएनन् जसले पार्टीभित्रको समीकरणमा समेत भिन्नता लिएको छ ।

जसको परिणाम ‘कुनै पनि बेला प्रधानमन्त्री हुन्छु’ भनेर डोल्पाका सांसद् धनबहादुर बुढालाई राजीनामा गराएर चुनाव लड्न तरखरमा रहेका वामदेव गौतमको यात्रामा समेत बे्रक लागेको छ ।

‘वामदेवले चुनाव जितेर आउनु भनेको सबैभन्दा बढी खतरा प्रधानमन्त्री ओलीलाई हो । गौतमलाई प्रधामन्त्री हुन हतार छ । उनको चहानालाई पूरा गर्न सरकार अस्थिर बनाउनका लागि पार्टीभित्रै चलखेल शुरु हुँदा झन् भद्रगोल हुने संकेत प्रधानमन्त्रीज्यूले पाइसक्नु भएको छ’, स्रोतले भनेको छ ।

‘गृहमन्त्रीलाई हटाउने हल्ला चलाएर गृह प्रशासनलाई कमजोर बनाउने । प्रहरी अधिकृतहरूको मनोबल कमजोर पार्ने र त्यसको अपजस सरकार नेतृत्व प्रधानमन्त्री ओलीलाई दिने उद्देश्यले गृहमन्त्री हटाउने प्रपञ्च रचेको उहाँहरूलाई थाहा छ’, प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले जर्वजस्त स्थापित गरेको राष्ट्रवाद । गृहमन्त्रीले जर्वजस्त तस्कर, विकास विरोधी ठेकेदार र बिचौलियालाई ठेगान लगाउने अडान दोहोर्‍याएर नेतृत्वका रुपमा स्थापित हुने देखेपछि आन्तरिक र वाह्य शक्तिबाट आक्रमण भएको निश्कर्षमा प्रधानमन्त्री र गृहमन्त्री पुगेको स्रोतले जनाएको छ ।

‘अहिले बाहिर हेर्दा प्रधामन्त्री र गृहमन्त्रीको केही नमिलेको जस्तो देखिन्थ्यो । त्यहीबीचमा पार्टी पंक्तिबाटै विरोध थाल्यो । त्यही मौकामा प्रतिपक्ष र वाह्य शक्तिले सरकारप्रति एकसाथ प्रहार गर्न थाले’, स्रोतले उल्लेख गरेको छ ।

‘एकताप्रक्रिया र सांगठनिक रुपमा पूर्व माओवादीभित्र दोस्रो शक्तिशाली भएकाले पनि थापाप्रति आक्रमण भयो । आक्रमण गृहमन्त्री थापालाई गरेर सरकारको सम्पूर्ण कमजोरी नेतृत्व हो भनेर प्रधानमन्त्रीलाई दोष लगाउन पाइन्छ भनेर पार्टीभित्रै चलखेल भयो । कतिपय नेता र मन्त्रीका स्वकीय सचिवहरु सार्वजनिक रुपमै गृहमन्त्रीका विरुद्ध अभिव्यक्ति दिए । जे होस् त्यो षड्यन्त्रलाई प्रधानमन्त्री र गृहमन्त्रीले बेलैमा बुझ्नुभयो’, गृहमन्त्री निकटका एक सचिवालय सदस्यले भनेका छन् ।