१२ कार्तिक २०८३, बिहिबार

योनीभित्रको तरल वस्तु मिलेन, निर्मला हत्यामा प्रहरीको कार्य झन् शंकास्पद

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर, २७ भदौ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरी प्रशासन थप शंकाको घेरामा परेको छ । घटनाको अभियुक्त भनी प्रहरीले पक्राउ गरेका दिलिपसिंह विष्ट डीएनए परीक्षण नमिलेपछि रिहा भएका छन् । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

हाजिरी जमानीमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विष्टलाई मंगलबार साँझ रिहा गरेको हो । ‘अनुसन्धान गर्दै जादा दिलीपसिंह विष्टको डीएनए परीक्षणको रिर्पोट नेगेटिभ देखियो’, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी कुबेर कडायतले भने, ‘मुद्दा चलाउनुपर्ने अन्य कुनै पनि यथेष्ट प्रमाण नभेटिएकाले सरकारी वकिलसँगको सहमतिमा हाजिरी जमानीमा छोडिएको हो ।’

मुद्दा अदालतमा लैजान यथेष्ट प्रमाण नपुगेकाले उनलाई छाडिएको प्रहरीले जनाएको छ । ‘अनुसन्धान गर्दै जाँदा हिरासतमा राख्ने समय पनि सकिँदै थियो’, एसपी कडायतले भने, ‘मुद्दा अदालतमा लैजान यथेष्ट प्रमाण पनि पुगेन ।’ दिलीपसिंह विष्टलाई उनका दाजु खड्गसिंह विष्टको जिम्मा लगाएर छोडिएको छ । विष्टमाथि अनुसन्धान भने जारी नै रहने कडायतले बताए ।

निर्मलाको डीएनएको प्रोफाइल र दिलिपसिंहको डीएनएको प्रोफाइल नमिलेपछि उनलाई मुद्दा चलाउनुपर्ने कारण नदेखिएको प्रहरीले जनाएको छ । निर्मला पन्तको भेजाइनल स्वाब (योनीभित्रको तरल वस्तु) मा रहेको बलात्कारीको डीएनए र दिलिपसिंह विष्टको डीएनए फरक पाइएको हो ।

विधि विज्ञान प्रयोगशालाले दिलिपको डीएनए नमिलेको रिपोर्ट पठाएको हो । ‘विष्टको स्वास्थ्य परीक्षणको रिपोर्ट भन्न नसकिने भन्ने आएको छ’, एसपी कडायतले भने, ‘झुटो बोल्ने र डायग्नोसिस गर्न नसकिने भन्ने उल्लेख छ ।’

भदौ ४ गते प्रहरीले मुख्य अभियुक्त बनाएर भीमदत्त नगरपालिका १९ बागफाँटाका ४१ वर्षीय विष्टलाई सार्वजनिक गरेको थियो ।

सोमबार डीएनए परीक्षणपछि रिपोर्ट महेन्द्रनगर पठाइएको थियो । विष्टलाई स्वास्थ्य परीक्षणका लागि प्रहरीले काठमाडौं लगेको थियो । काठमाडौंमा १० दिन उनको मानसिक स्वास्थ्य अवस्था र अन्य चेकजाँच गराएर शुक्रबार मात्रै महेन्द्रनगर ल्याइएको थियो ।

निर्मलाको बलात्कारपछि हत्या गरिएको २६ औं दिनमा तत्कालीन जिल्ला प्रहरी नेतृत्व र केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी अंगुर जीसी नेतृत्वको टोलीले निर्मलाको बलात्कारपछि हत्या विष्टले नै गरेको निष्कर्ष निकालेको थियो ।

साउन १० गते साथीको घर पढ्न गएकी निर्मलाको साइकलमा फर्किने क्रममा बीच बाटोमा चेन फुत्केको र चेन लगाइदिने भन्दै नजिकैको उखुबारीमा लगेर पक्राउ परेका अभियुक्तले बलात्कार गरेको निष्कर्ष प्रहरीले भदौ ४ गते पत्रकार सम्मेलनमा जानकारी गराएको थियो ।