
काठमाडौं, २३ भदौ । महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरी म्याद थपेका गुन्डा नाइके सत्य लामामाथि सम्पत्ति शुद्धिकरणको मुद्दा चलाइएको छ । धम्की दिएर सम्पत्ति थुपारेपछि प्रहरीले मुद्दा चलाउन लागेको हो । स्रोत नखुलेका सम्पत्ति जफत गरी राज्यलाई बुझाउने प्रक्रियामा प्रहरी लागेको महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए ।
‘गुन्डा नाइकेको सम्पत्ति कहाँ बाट आउँछ ? चन्दा असुली, हप्ता असुली तथा अवैध कामवापत कमाएका नजिर छन् कतिपय जेल पुगिसकेका छन्’, सिंहले भने,‘हामीले यसलाई पनि सम्पत्ति शुद्धिकरण अनुसन्धान थालिसकेका छौं ।’
महानगरीय प्रहरी परिसर काठमाडौंले अर्का गुन्डा बाघे भनिने सुकबहादुर तामाङलाई पक्राउ गरेको छ । तामाङविरुद्ध पनि अनुसन्धान जारी छ । सम्पत्ति शुद्धिकरणको मुद्दा लगाउने तयारी भइरहेको छ ।
गुन्डागर्दीमा संलग्न भएको केही समयमा नै करोडौंको सम्पत्ति आर्जन गरी राजनीतिक दललाई पनि प्रभावमा राख्ने हैसियत बनाउनेविरुद्ध नेपाल प्रहरी कठोर बन्न थालेको छ । सत्य लामालाई छुटाउनका निम्ति नेपाल कम्युनिस्ट पार्टीकी सांसद नवीना लामाले प्रयास गरेकी थिइन् । तर, यसपटक प्रहरीले राजनीतिक दबाब स्वीकार गरेन । बरु, अझ बढि समय म्याद थपेर सम्पत्ति शुद्धिकरणमा कारबाहीको प्रक्रिया अघि बढायो ।
हत्यादेखि जघन्य अपराध गरी अकुत सम्पत्ति कुम्ल्याउने कतिपय गुन्डा नाइकेलाई प्रहरीले इन्काउन्टर नै गरेको छ । राजनीतिमा छिरेर सामाजिक बन्न खोज्ने तर गुन्डागर्दी नछाड्नेलाई भने सम्पत्ति शुद्धिकरण लगाएर जेल पठाउने गरेको छ ।
केही समयअघि काभ्रेमै नेपाली कांग्रेसबाट प्रदेश सभामा उठेका गणेश लामालाई सम्पत्ति शुद्धिकरणको मुद्दामा सजायको भागीदार बनाइएको छ ।
उनलाई पहिलो चरणमा हातहतियार खरखजाना मुद्दा लगाइएको थियो । ‘न व्यापारिक पृष्ठभुमी हुन्छ न कुनै खास काम । तर यिनीहरूले कव्जा गरेका कतिपय प्रतिष्ठान र हप्ताबारीका कारण मनग्गे सम्पत्ति भेटिन्छ’, स्रोतले भन्यो,‘न यीनले समाजमा गतिलोसँग कसैलाई बस्न र बाँच्न दिएका छन् ।’
मुद्दा भएका र पहुँचका आधारमा बाहिर निस्किएका धेरै गुन्डालाई प्रहरीले निगरानीमा राखेको छ । मुद्दा लागेका र त्यसमा भनसुन गरी शुद्धिने कोशिश गरेकालाई पनि प्रहरीले निगरानीमा राखेको छ । प्रहरीका एक उच्च अधिकारीले भने,‘गुन्डालाई सामाजिक बनेर, कानुनसम्मत समर्पण गरी बाँच्ने अधिकार प्रहरीले दिन्छ । अब हप्ता उठाउने, लुटपाट मच्चाउने, कव्जा गर्ने र हतियार राख्ने छुट हुँदैन ।’
गुन्डागर्दीलाई निमिट्यान्न पार्नका लागि नै प्रहरीको यस्तो अभियान सक्रिय देखिएको छ । राजीव गुरुङ (दिपक मनाङे), रमेश बाहुनलगायत जेलमा छन् । कुमार घैंटे, मनोज पुनलगायतको इन्काउन्टर भइसकेको छ । प्रहरी उच्च स्रोतले भन्यो,‘अझै पनि केही गुन्डाहरूको तुजुक बढिरहेको छ । हामीले सूचना पाइरहेका छौं । उनीहरूको अपराधका आधारमा पक्राउ गरि कारबाही गरिन्छ ।’















प्रतिक्रिया