४ कार्तिक २०८३, बुधबार

चीनसँगको पारवहन सम्झौताः भारतको भन्दा बढि बन्दरगाह प्रयोग हुने, नाका पनि थपिए

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ भदौ । चीनसँगको पारवहन सम्झौता अनुसार नेपालले चीनका सात ओटा बन्दरगाह प्रयोग गर्न पाउने भएको छ । यी बन्दरगाहमार्फत नेपालले तेस्रो मुलुकबाट बस्तु आयात तथा निर्यात गर्न सक्ने छ ।

नेपालले चीनका ४ वटा सामुन्द्रिक र ३ वटा सुख्खा बन्दरगाह प्रयोग गर्न पाउने सहमति भएको हो । यस अनुसार अब नेपालले चीनका भारतका भन्दा बढि बन्दरगाह प्रयोग गर्न पाउने छ ।

वाणिज्य सचिव चन्द्रकुमार घिमिरेकाअनुसार सहमति भएको प्रोटोकलमा छिट्टै एक विशेष समारोहमा औपचारिक हस्ताक्षर हुनेछ । घिमिरेका अनुसार भविष्यमा नेपालले चीनका सबै बन्दरगाह उपयोग गर्न पाउने भनिए पनि तत्काललाई भने तियान्जेन, सेनजेन, लियानयुंगाङ्ग र झाङ्गजियाङ्ग गरी ४ वटा सामुन्द्रीक बन्दरगाह प्रयोग गर्न पाउनेछ ।

नेपालले लान्जाओ, ल्हासा र सिगात्से गरी तीन वटा सुख्खा बन्दरगाह पनि प्रयोग गर्न सक्ने प्रोटोकलमा उल्लेख छ ।

यस्तै चीनले नेपालका थप ४ नाकालाई अन्तर्राष्ट्रिय नाकाको मान्यता दिन सहमति जनाएको छ । अब नेपालले किमाथाङ्का, नेचुङ्ग, यारी र ओलाङ्गचुङ्गोलालाई अन्तर्राष्ट्रिय ब्यापारिक नाकाको रुपमा प्रयोग गर्ने छ । बुधबारदेखि काठमाडौंमा भएको पारवहन सम्झौता प्रोटोकलको तेस्रो परामर्श बैठकले मस्यौदालाई अन्तिम रुप दिएको समेत दिएको छ ।