
बर्दिवास, १८ भदौ । निर्माण व्यवसायीले जिम्मा लिएको काम समयमै सम्पन्न नगर्ने गुनासो आइरहेको बेला रसुवा कन्सट्रक्सन कम्पनीले भने निर्माण अवधि भन्दा १८ महिना अघि नै पुल निर्माण गरेको छ ।
पूर्व–पश्चिम राजमार्गको महोत्तरी र धनुषा जिल्लाको सीमा नदी रातुमा निर्माण गरिएको पुल निर्धारित अवधिभन्दा १८ महिनापूर्व नै निर्माण कार्य सम्पन्न गरेको हो ।
२०७३ असार २९ मा सम्झौतापत्रमा हस्ताक्षर गरेको निर्माण कम्पनीले २०७६ पुस मसान्तमा पुल निर्माण सम्पन्न गर्ने उल्लेख थियो । २५० मिटर लम्बाई र १०.९० मिटर चौडाइको यो पुल निर्माण काम सकिएर यसै महिना प्रयोगमा आउने भएको छ ।
पूर्व–पश्चिम राजमार्गको रातु नदीमा २०२६ सालमा बनेको पुल २०७१ सालको बाढीले खम्बा (पाया) भासिएपछि आवतजावतमा कठिनाई भएसँगै सरकारले नयाँ पुल निर्माण गर्ने प्रक्रिया बढाएको थियो ।
प्रक्रिया अघि बढेसँगै २०७३ असार २९ गते पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । यो पुल रु २४ करोड ६० लाख बोलकबोल अनुसार निर्माण सम्पन्न भएको हो । आइगर्डर (प्रिस्टेस) डिजाइनबाट छ खण्डमा निर्माण गरिएको यो पुल दुई लेनको छ ।
यसमा १०/१० टन भार क्षमताका दुई सवारी साधन एकसाथ आवतजावत गर्न सक्ने बताइएको छ ।












प्रतिक्रिया