१ कार्तिक २०८३, आइतबार

लण्डनमा नेपाली मेला

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन । लण्डनको केम्पटन पार्क रेस कोर्समा नेपालीहरू नेपाली मेलामा सहभागी भएका छन् । नेपालमै दुर्लभ लाग्ने साँस्कृतिक झांकी, नृत्य र भेषभुषाले मिनी नेपाल मेलाको माहोल बनेको थियो ।

मेलामा दुई दर्जन नेपाली संघसंस्थाले झाँकी र करिब डेढ दर्जनले नृत्यमा प्रतिष्पर्धा गरेर आफ्नो मौलिक कला सँस्कृति उजागर गरेका छन् ।

सोरठी, घाँटु, बालन, लाखे, कृष्ण चरित्र नाच, धान नाच, चुडका, कौडा, रत्यौली देखि तीज र टहोंटे पर्व झल्काउने मौलिक प्रस्तुतिले रंगीयो रेस कोर्स ।

झांकीमा नेपालमै दुर्लभ ढिकी जांतो, डोको नाम्लो, हलो जुवा, कुटो कोदालो, स्याखु, चर्खा, राडी, गुन्द्री, चर्खा, ठेकी मदानी जस्ता करिब तीन दर्जन सामाग्री देखाएर लमजुङ समाज यूकेले नेपालमात्र बिर्साएन, एम्बासडर कप नै जित्यो ।

दर्शकले भनेजस्तै उद्देश्य लिएर तमुधिं यूकेले लन्डनस्थित नेपाली दूतावास र अन्य संघसंस्थाको सहकार्यमा गरेको हो दशौं नेपाली मेला ।

मेलाले नयां पुस्तामा नेपाली भाषा, कला र संस्कृति हस्तान्तरण हुने आशा समेत तमुधिं यूकेको छ। बेलायतमा नेपालीले गर्ने ‘इभेन्ट’ मध्ये गोर्खा कप पछि वृहत मानिन्छ नेपाली मेला। सन् २००९ देखि वर्षेनी नेपाली मेला हुंदै आएको छ ।

मेला अवलोकन गर्न बेलायतका लागि यमन, इराक, यूएइ, उज्वेकिस्तान, ट्युनिसियाका राजदूतहरु एवं बहमास, बंगलादेश, जोर्डन, रोमानिया, माल्दिभ्स, केन्या, इजिप्ट, स्वाजील्याण्ड, आइसल्याण्ड, एल साल्भाडोर, ताजिकिस्तान, बुल्गेरियाबाट प्रतिनिधित्व गर्ने विभिन्न तहका कुटनीतिज्ञ र बेलायतको विदेश मन्त्रालयका प्रतिनिधि पनि प्रत्यक्ष सहभागी थिए। कुटनीतिज्ञ निम्त्याउने चांजोपांजो नेपाली दूतावासले गरेको हो ।