काठमाडौँ, ५ माघ । प्रमुख राजनीतिक दलहरुले संविधानका विवादित विषयमा सहमति जुटाउन बिहानैदेखि व्यस्त छन् ।
बिहान देखि बैठक बसे पनि अहिलेसम्म कुनै पनि विषयमा औपचारिक सहमति भएको छैन । संविधानसभा भवन नयाँ बानेश्वरमा जारी बैठकमा विवादित सबै विषयमा सहमति जुटाउने प्रयत्न जारी रहेको एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले जानकारी दिनुभयो ।
आइतबारको छलफल धेरै सकारात्मक भएको अनुभव गरिए पनि आजको बैठक आशा गरेअनुरुप गाँठो फुक्न नसकेको उहाँको प्रतिक्रिया छ ।
शासकीय स्वरुपमा सत्ता पक्षले ल्याएको प्रस्तावमा एमाओवादीले अवरोध नगर्ने बताएको उहाँले बताउनुभयो । तर, संघीयताको विषय छिनोफानो नभई प्रक्रियामा अगाडि बढ्न नसकिने भन्ने विपक्षी दलहरुको अडान रहेको उपाध्यक्ष भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “आशा गरौँ सबै विषयमा सहमति हुनेछ ।”
एमालेका अर्का नेता माधवकुमार नेपालले सबै विवादित विषयमा छलफल जारी रहेको भन्दै केही न केही सहमति हुने विश्वास व्यक्त गर्नुभयो ।
एकीकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महराले सहमतिका लागि प्रयास भइरहेको तर हालसम्म कुनै पनि सहमति नभएको जानकारी दिनुभयो । उहाँले सहमति नभएसम्म सहमति भयो भनेर बाहिर प्रचार गरिनु राम्रो नहुने उल्लेख गर्नु भयो ।
“जुन विषयमा सहमति भएको छ, त्यो विषय अगाडि बढ्छ, अरु विषयमा सहमतिका लागि प्रयास जारी रहन्छ”, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले भन्नुभयो ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको उपस्थितिमा जारी बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताको सहभागिता छ ।
















प्रतिक्रिया