काठमाडौं, १४ भदौ । नेपाली कांग्रेसका नेताहरूले पार्टीलाई संस्थागत रुपमा अगाडि बढाउने गरेर गृहकार्य थालेका छन् । सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइरालालाई विश्वासमा लिने प्रयास गरेका छन् ।
देउवाले बेलाबेला पौडेल र डा.कोइरालालाई आफ्नै निवास बुढानिलकण्ठमा बोलाएर डिनर खुवाउने गरेका छन् । सभापति देउवासँग बेलाबेला वार्ता गर्ने पौडेल र डा.कोइरालाको क्रियाकलापलाई खुम्चिएर बसेका कृष्णप्रसाद सिटौला समूहले रुचाएको छैन ।
नेता सिटौलाले आफूलाई सर्वेसर्वाका रुपमा अगाडि बढाउन खोजेका छन् । सिटौलाले कोइराला परिवारको बिरासत् आफू समक्ष आएको दावी गर्दै आएका छन् । यूनाइटेड पोष्ट साप्ताहिले समाचार छापेको छ ।
हालै गठन भएको कांग्रेसको विधान मस्यौदा समितिमा सिटौलाले प्रदीप पौडेललाई पठाएपछि यो समूहभित्र असन्तुष्टि बढेको छ । सिटौला समूहमा सबैभन्दा जुनियर नेताका रुपमा चिनिएका पौडेललाई समितिमा पठाएर गल्ती भएको गुनासो बढेको छ ।
स्रोतका अनुसार सिटौला समूहबाट गगन थापालाई समितिमा राख्ने तयारी भएको थियो । तर, गगन थापासँग सिटौला सशंकित छन् । सोही कारण प्रदीप पौडेलले गगन थापालाई उछिनेको चर्चा हुन थालेको छ ।
उता, स्वर्गीय खुमबहादुर खड्काकी पत्नी शिला गौतम खड्काले गुट चलाउने प्रयास गरेकी छिन् । उनले खुमबहादुरले संरक्षण गरेका नेताहरूलाई साथमा लिएर राजनीति गर्ने संकेत गरेकी छिन् । शिलाले आफूभन्दा पनि छोरालाई राजनीतिमा स्थापित गर्ने योजना बनाएकी छिन् ।
तर, खुमबहादुर खड्का समूहबाट शिलाले भन्दा पनि महामन्त्री पूर्णबहादुर खड्काले यो गुटलाई कब्जा गर्ने योजना बनाएका छन् । पूर्णबहादुरले खुमबहादुरको नाममा राजनीति गरेर त्यो गुटलाई आफू मातहत राखेर नेता बन्ने योजना बनाएको स्रोतको भनाइ छ ।















प्रतिक्रिया