१२ कार्तिक २०८३, बिहिबार

आईजीपी कार्कीले बोलाए आकस्मिक पीसीसी बैठक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी संगठनको नीति समन्वय समिति (पीसीसी) को आकस्मिक बैठक आह्वान गरेका छन्। प्रहरी प्रधान कार्यालयमा दिउँसो २ बजे बस्ने बैठकमा सातै प्रदेशका प्रहरी प्रमुखसहित काठमाडौं उपत्यकामा कार्यरत वरिष्ठ प्रहरी अधिकारीहरूलाई समेत सहभागी हुन बोलाइएको छ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार बैठकमा प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) र काठमाडौं उपत्यकाभित्रका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई पनि निमन्त्रणा गरिएको छ। यसअघि पीसीसी बैठकमा प्रायः उपत्यकामा कार्यरत डीआईजी र अतिरिक्त प्रहरी महानिरीक्षक ९एआईजी० स्तरका अधिकारीहरू मात्रै सहभागी हुने गरेका थिए।

यसपटक भने बैठकमा सहभागी हुने अधिकारीहरूको दायरा फराकिलो बनाइएको छ। बैठकमा समसामयिक शान्ति सुरक्षा र प्रहरी संगठनसँग सम्बन्धित विषयमा छलफल हुने बताइएको छ।

पीसीसी बैठकलाई प्रहरी संगठनको नीति निर्धारण तथा संस्थागत धारणा निर्माणका लागि महत्त्वपूर्ण मानिन्छ। संगठनले अवलम्बन गर्नुपर्ने नीतिगत विषय र सामूहिक निर्णयमा पुग्नुपर्ने मुद्दाहरूमा यस्ता बैठकमा छलफल हुने गर्छ।

यद्यपि, यसपटकको बैठकमा शान्ति सुरक्षाको विषयलाई प्राथमिकतामा राखिएको स्रोतको भनाइ छ। बैठक आकस्मिक रूपमा बोलाइनुको कारणबारे भने विस्तृत जानकारी सार्वजनिक भएको छैन।

पछिल्लो समय आईजीपी कार्की र सरकारबीचको सम्बन्धमा चिसोपना आएको तथा प्रधानमन्त्रीले उनलाई पदबाट हटाउन चाहेको भन्ने चर्चा सार्वजनिक भइरहेका छन्। यही राजनीतिक तथा प्रशासनिक पृष्ठभूमिमा कार्कीले पीसीसी बैठक बोलाएपछि बैठकलाई चासोका साथ हेरिएको छ।