
काठमाडौं, १३ भदौ । काठमाडौं उपत्यकामा रहेका सडकमा कति छन् खाल्डाखुल्डी ? यसको तथ्यांक सडक विभागसँग पनि छैन । तर, विभागसँग यीनको मोलचाहीँ छ । हुनुपर्ने १५ अर्ब हो । तर चालु आर्थिक बर्षमा ३ अर्ब ५० करोड हात लागेको छ ।
मुख्य मार्गका सडक जहाँ खाल्डाखुल्डी परेका छन्, पानी जमेका छन् । धेरैको मर्मत भइसकेको छ– बिम्स्टेक सम्मेलनका लागि । केहीको बाँकी छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) चौथो सम्मेलनको अवसरमा उपत्यकाको मुख्य मार्गका खाल्डाखुल्डी पुरिएको छ ।
विभागले भने खाल्डाखुल्डी पुर्ने काम नियमित हुने र उक्त बजेट रहेको प्रवक्ता मुक्ति गौतमलाई उदृत गर्दै सरकारी समाचार संस्था राष्ट्रिय समाचार समितिले उल्लेख गरेको छ ।
‘सडकको खाल्डाखुल्डी मर्मत सम्भारका लागि १५ अर्ब माग गरेका थियौँ, सडक बोर्ड नेपालले तीन अर्ब ५० करोडको मात्र व्यवस्था गरेको छ, यस वर्ष बिम्स्टेकको बैठक परेकाले थप बजेट आवश्यक परे अर्थमन्त्रालयले उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ’, उनले भने ।
वर्षायाममा बढी सडक बिग्रने भएकाले बिटुमिन राखेर काम गर्न मिल्दैन । हाल इमुल्सन राखेर खाल्डाखुल्डी पुर्ने काम भइरहेको विभागले जनाएको छ ।
बिम्स्टेकका लागि विशेष सवारीको मार्ग परेको त्रिपुरेश्वर–कालीमाटी–कलङ्की र चाबहिल–बौद्ध–जोरपाटी–थली मार्गको मर्मत सम्भार ठेक्का लागेकै निर्माण व्यवसायीबाट गराइएको प्रवक्ता गौतमले बताए ।
बिम्स्टेकलाई लक्ष्य गरेर मर्मत सम्भार गर्ने सडकको काम आजसम्म सम्पन्न हुने जनाइएको छ । यस अवसरमा सडकमा विशेष रङरोगनसमेत गरिएको छ । केही स्थानमा जेब्रा क्रससमेत बनेको छ ।
खानेपानीको पुरानो वितरण सञ्जालको पाइप फुटेर सडकमा पानी जमी धेरै खाल्डाखुल्डी हुने गरेको छ । बिम्स्टेकको मुखमा मुख्य मार्गका खाल्डाखुल्डी टालिए पनि अतिथिको मार्ग नपर्ने सडकमा कसैको ध्यान जान नसकेको स्थानीयवासीको गुनासो छ ।
विभागले भने १५ दिनपछि बिग्रिएका सबै सडकको मर्मत सम्भार गरिने जनाएको छ ।
गोकर्ण रिसोर्टमा बिम्स्टेकका पाहुनाको कार्यक्रम राख्दा त्यहीँसम्मको मात्र सडकको खाल्डाखुल्डी टाल्ने काम भएको तर साँखुसम्म काम नगरिएको स्थानीय जीवनाथ सिम्खडाले बताए । यसैगरी भित्री सडकमा बनेका खाल्डाखुल्डी पनि टालिएको छैन । मर्मत सम्भार गर्नुपर्ने सडकमा विभागले खटाएका पहेँलो र हरियो ज्याकेट लगाएका कामदारले सफाइको काम शुरु गरिसकेको प्रवक्ता गौतमले बताए ।















प्रतिक्रिया