काठमाडौं, ११ भदौ । तरकारीमा सिण्डिकेट लगाएर उपभोक्तालाई महँगोमा विक्री गर्ने व्यापारीलाई सरकारी टोलीले पक्राउ गरेको छ ।
सोमबार बिहान काठमाडौंको बल्खुस्थित तरकारी बजारमा छापा मारेर उद्योग वाणिज्य तथा आपूर्ति विभागको टोलीले एकजना व्यापारीलाई पक्राउ गरेको हो । विभागका निरीक्षक अधिकृत दीपक पोखरेलको नेतृत्वमा पुगेको सरकारी टोलीलाई व्यापारीहरूले अवरोध गरेपछि केही समय तनाव भएको थियो ।
व्यापारीहरूले सरकारी टोलीमाथि अभद्र व्यवहार समेत गरेका थिए । उनीहरू हुलहुज्जसमेत गरेपछि तरकारी व्यापारी रवि साहलाई पक्राउ गरिएको छ ।
साहलाई पक्राउ गरेपछि व्यापारीहरूले बजारभित्र र बल्खु चोकमा निस्केर बिरोध प्रदर्शन गरेका छन् । सरकारी टोलीको अनुगमनका क्रममा बल्खु तरकारी बजार क्षेत्रका कुनै पनि व्यापारीले व्यवसाय दर्ता नगरेको भेटिएको जनाइएको छ । व्यापारीहरूसँग पान नम्बर नरहेको अनुगमन टोलीले जनाएको छ ।
अधिकांश व्यापारीले बाहिरबाट कृषकसँग तरकारी किनेर ल्याउँदा कुनै प्रकारको बिलसमेत नराखेको भेटिएको अनुगमन टोलीले जनाएको छ । अनुगमन टोलीले बल्खु तरकारी बजारका सञ्चालक मोहन बस्नेतलाई विभागमा आएर स्पष्टीकरण दिन निर्देशन दिएको छ ।
बल्खु तरकारी बजार कम्पनी ऐन अन्तरर्गत खोलिए पनि त्यहाँको अधिकांश कारोबार अवैध पाइएको हो । यसअघि सरकारले कालिमाटी तरकारी बजारमाा हस्तक्षेप गरेर त्यहाँ बिचौलियाले चलाएका ९८ वटा स्टल खारेज गर्ने निर्णय गरेको थियो ।















प्रतिक्रिया