
वासिङ्टन, ९ भदौ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले गर्न लाग्नुभएको उत्तर कोरियाको भ्रमण स्थगित भएको छ ।
उनले केही दिनपछि उत्तर कोरियाको भ्रमण गर्न लागेका थिए । तर, सो भ्रमण नगर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमन्त्री पोम्पेओलाई निर्देशन दिएका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले सो जानकारी शुक्रबार आफ्नो ट्वीट अकाउण्टमार्फत गराएका थिए ।
उनले भनेका थिए, ‘तत्कालका लागि उत्तर कोरियाको भ्रमण गर्न उचित छैन किनभने निशस्त्रीकरणका पक्षमा उत्तर कोरियाले भने बमोजिमको प्रगति हुन सकेको छैन ।’
अमेरिकी समाचार समिति एपीले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनअनुसार विदेशमन्त्री पोम्पेओको उत्तर कोरिया भ्रमण स्थगित भएको जनाएको छ । उसले विदेशमन्त्रीको अर्काे भ्रमण कहिले हुने भन्ने बारेमा भने केही पनि खुलाएको छैन ।
सो ट्वीटमा उनले भनेका छन्, ‘मैले विदेशमन्त्री पोम्पेओलाई अहिलेको अवस्थामा उत्तर कोरियाको भ्रमण नगर्नु भनेको छु किनभने हामीले अघिप्रतिबद्धता व्यक्त गरे जस्तो गरी निशस्त्रीकरणको पक्षमा खासै प्रगति गर्न सकेका छैनौँ ।’
उनले विदेशमन्त्री पोम्पेओले निकट भविष्यमा नै उत्तर कोरियाको भ्रमण गर्नेपनि जानकारी दिए । त्यस भ्रमणका क्रममा आफूले उत्तर कोरियाका नेता किम जोङ उनलाई न्यानो माया र सम्मानको सन्देश पठाउने बताएका छन् ।
उनले आफू पनि उत्तर कोरियाका नेता किमलाई भेटगर्न आतुर रहेको पनि बताएका छन् । भ्रमणका लागि विदेशमन्त्री पोम्पेओ उत्तर कोरिया प्रस्थान गर्ने तयारीमा रहेका बेला अमेरिकाको यो निर्णय आएको छ ।
राष्ट्रपति ट्रम्पले कोरियाली प्रायद्वीपलाई परमाणु हतियार मुक्त बनाउने भनी अघिल्लो भेटमा भएका प्रतिबद्धता बमोजिम पर्याप्त मात्रामा प्रगति भइसकेको छैन भनेको सो समाचारमा जनाइएको छ । गएको जुन महिनामा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँग भेटवार्ता गरेका थिए ।
उच्चस्तरीय सम्मेलन नाम दिइएको सो भेटवार्ता सिंगापुरमा भएको हो । सिंगापुरमा भएको सो सम्मेलनमा उत्तर कोरियाले परमाणु कार्यक्रमलाई अन्त्यगरी निशस्त्रीकरणमा जोड दिने प्रतिबद्धता व्यक्त गरेको थियो ।
त्यस यता उत्तर कोरियाबाट परमाणु खतरा नरहेको राष्ट्रपति टम्पले नै बताउँदै आएका छन् । तर, अहिले भने उनले उत्तर कोरियाले पर्याप्त मात्रामा काम गर्न नसकेको बताएका छन् । उत्तर कोरियाले आफ्ना परमाणु केन्द्र बन्दगर्ने र कोरियाली प्रायद्वीपलाई परमाणु मुक्त बनाउने भनी सिंगापुरमा गरेको सहमतिलाई उत्तर कोरियाले लागू नगरेको आरोप अमेरिकाको छ ।
उत्तर कोरियाले नयाँ ब्यालेस्टिक क्षेप्यास्त्र बनाउँदै गरेको अमेरिकाको आरोप छ । त्यस्तै संयुक्त राष्ट्रसंघको परमाणु एजेन्सीले पनि उत्तर कोरियाले आफ्नो पमारणु कार्यक्रमलाई बन्द नगरेको बताएको छ । -रासस















प्रतिक्रिया