
काठमाडौं । तीन बर्ष हुन लाग्यो । जब बलिउडका फिल्म, आइटम नम्बरमा पूर्व पोर्नस्टार सन्नी लियोनीको प्रवेशले तहल्का मच्चाइरहेको थियो उनले ट्वीटरमा फ्याट्ट लेखिन्– मलाई संसारकै मनपर्ने देश नेपाल हो । म नेपाल जाँदैछु !
भारतले नाकाबन्दी लगाएका बेला उनी पति डेनियल बेबरका साथ नेपाल आइन् । काठमाडौंको र्याडिशन होटलमा बसिन् । उनले नेपाल संसारमा उत्कृष्ट लाग्ने देश पनि बताइन् । व्यावसायीक दौडका लागि काठमाडौं उत्रिएकी सन्नीको नेपालसँगको कनेक्शन ‘रक्सी’बाट भएको थियो ।
नाकाबन्दीका समय नेपालमा चलेको स्थानीय उत्पादन ‘जिङ’ भोड्काको ब्रान्ड एम्बेस्डर रहेका कारण उनी पटक–पटक नेपाल आइन् । त्यसवापत कम्पनीसँग उनले एक करोड पारिश्रमिक लिएकी थिइन् ।
क्यानडेली भारतीय मूलकी सन्नी बलिउड अभिनयमा छिर्नुअघि बयस्क (पोर्न) फिल्मकी चर्चित अभिनेत्री थिइन् । अहिले उनले पोर्न फिल्म खेल्न छाडेकी छन् । बलिउडमा उनको आइटम र अभिनयले गति लियो ।
भारतीय फ्रेन्चाइज शो विग बोसमार्फत बलिउडमा उनको प्रवेश भएको थियो । चल्तीका निर्देशक महेश भट्टले उनलाई जिस्म–२ मार्फत बलिउडमा प्रवेश गराएका थिए ।
भारतमा सन्नीको बसाईले उनलाई नेपालतिर पनि ध्यान खिच्यो । उनले नेपालसँगको सम्बन्धलाई बलियो बनाउनका लागि व्यावसायीक यात्रा पनि थालिन् ।
उनै सन्नीको नेपालसँगको सम्बन्ध अब फिल्ममार्फत पनि हुने पक्का भएको छ । लन्डनमा छायांकन हुने फिल्म ‘पासवर्ड’का लागि सन्नी फाइनल भइसकेको बताइन्छ ।
सन्नीलाई फिल्मका लागि ५० लाख भन्दा बढी रकम पारिश्रमिकका रूपमा दिइएको बताइएको छ । फिल्ममा उनको भुमिका धेरै नभए पनि पर्याप्त हुनेछ ।
फिल्ममा अनुपविक्रम शाही, छुल्ठिम गुरुङ, रविन्द्र झा, प्रविण खतिवडा लगायतको अभिनय रहनेछ । शाहीले सन्नी लियोनीसँग आफ्नो अभिनय रहेको पुष्टि गरिसकेका छन् ।
फिल्म सम्राट बस्नेतले निर्देशन गर्दैछन् । । नेपाली र बलिउड फिल्म जोड्ने उद्देश्यले सन्नीलाई अनुबन्धन गरिएको बताइन्छ । प्राविधिकदेखि सबै सामाग्री भारतदेखि नै लगिनेछ ।















प्रतिक्रिया