८ कार्तिक २०८३, आइतबार

शीर्ष नेताहरुलाई बोलाएर राष्ट्रपतिले के भने ?

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dr_Ram_Baran_Yadav

काठमाडौँ, ३ माघ । राष्ट्रपति डा रामवरण यादवले संविधान निर्माणमा भएका अल्झनका बारेमा प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्नुभएको छ ।

संविधान लेखनमा भइरहेका ढिलाइ र विवादका विषयमा चासो व्यक्त गर्दै उहाँले प्रमुख तीन दल काँग्रेस, एमाले र एमाओवादीका शीर्ष नेतासँग भेटवार्ता गर्नुभएको हो ।

छलफलमा राष्ट्रपति डा यादवले संविधान निर्माणमा किन ढिलाइ भएको हो ? माघ ८ भित्र संविधान जारी गर्ने प्रतिबद्धताबाट दलहरू पछि हटेको हो ? भनी जिज्ञासा राख्नुभएको थियो ।

भेटमा सहभागी एमालेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपतिले सबै पक्षलाई सहमत हुने प्रक्रियाका आधारमा संविधान निर्माण गरी जनतामा छाएको निराशालाई अन्त्य गर्न आग्रह गर्नुभएको पत्रकारहरूलाई बताउनुभयो ।

नेता खनालले सहमतिका लागि आफूहरूको पहल जारी रहेको र सहमति नभएमा विधि र पद्धतिबाट संविधान ल्याउनुपर्ने धारणा राखेको जानकारी दिनुभयो ।

काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सहमतिको सम्भावना न्यून भएकाले अन्तरिम संविधानमा ‘अन्तरिम’ हटाएर संविधान जारी गर्न सुझाएको बताउनुभयो ।

काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले सकेसम्म सहमति र नभएमा प्रक्रियाबाट संविधान ल्याउनुपर्ने आफूहरुको धारणाबारे राष्ट्रपति डा यादवलाई अवगत गराएको जनाउनुभयो ।

काँग्रेस र एमालेसँगको भेटवार्ता सकिएपछि एमाओवादी र मधेसवादी दलका नेतासँग राष्ट्रपतिले भेटवार्ता गर्नुभयो । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भन्नुभयो ‘‘सहमतिबाटै संविधान जारी गर्नुपर्छ र विगतको सहमति र सम्झौतालाई अक्षरशः कार्यान्वयन गरिए अन्तिम निष्कर्ष निस्कन्छ भन्ने धारणा राख्यौ ।’’

‘‘राष्ट्रपतिले मुलुक र जनअपेक्षा पूरा गर्न आग्रह गर्नुभयो र सहमतिको विकल्प नभएको समेत बताउनुभयो’’ छलफलका क्रममा केन्द्रीत भएका विषयवस्तुका बारेमा जानकारी दिँदै उपाध्यक्ष श्रेष्ठले भन्नुभयो ‘‘तोकिएको समयमा संविधान जारी हुन नसक्नाको कारण के हो, सहमति कहिले कसरी हुन्छ भन्ने नै उहाँको प्रमुख चासो थियो ।’’

मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले जनताको भावनालाई आत्मसात् गरेर अगाडि बढ्न आग्रह गर्नुभएको जानकारी दिनुभयो ।

‘‘संविधान निर्माणका लागि नेपाली जनताले ठूलो त्याग र बलिदान गरेका छन्, त्यो बलिदानलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुस् भनेर राष्ट्रपतिले बोलाउनुभएको रहेछ, हामीले आफ्ना कुरा राख्यौँ’’ अध्यक्ष गच्छदारले भन्नुभयो ।