काठमाडौँ, ३ माघ । नेपालमा छिमेकी मुलुक भारतबाट बार्षिक दुई अर्ब रुपैंया बराबरको माछा आयात हुने गरेको एक तथ्यांकले देखाएको छ ।
नेपाल माछा उत्पादनमा आत्मनिर्भर हुन सकेको छैन । भारतबाट वार्षिक १६ हजार मेट्रिकटन अर्थात् करिब रु दुई अर्ब मूल्यबराबरका माछा आयात गरी यहाँको मागलाई पूर्ति गरिँदै आएको छ ।
व्यवसायीहरुका अनुसार, नेपालको माछा राजधानीवासीलाई समेत पुग्दैन । राजधानीमा वार्षिक १६ हजार मेट्रिकटन माछा आवश्यकता पर्छ । जसमध्ये पाँच हजार मेट्रिकटन माछा भारतबाट आयात गर्नुपर्छ । नेपालमा सबैभन्दा धेरै माछा उत्पादन हुने जिल्ला बारा हो । यहाँ वार्षिक पाँच हजार मेट्रिकटन माछा उत्पादन हुन्छ ।
नेपालको अर्थतन्त्रमा माछा उत्पादनको योगदान एक प्रतिशत छ भने कुल गार्हस्थ्य उत्पादनमा तीन प्रतिशत र ५६ जिल्लामा व्यावसायिक उत्पादन गरिन्छ ।
माछाको उत्पादन पोखरी, तालतलैया, पिँजडा, धानखेत, घोल, तथा सिमसार क्षेत्रमा गरिन्छ । विसं ०६९÷०७० मा ६४ हजार ९०० मेट्रिकटन माछा उत्पादन भएको थियो ।
मत्स्य समाजको राष्ट्रिय सम्मेलनका जानकारी दिन राजधानीमा आयोजित पत्रकार सम्मेलनमा व्यवसायीहरुले यस्तो तथ्यांक पेश गरेका हुन् । पत्रकार सम्मेलनमा माघको १६, १७ र १८ गते ‘मत्स्यपालनको विकास, समृद्ध राष्ट्रको आधार’ भन्ने नाराका साथ मत्स्य समाजको सम्मेलन हुने जानकारी दिइयो ।
मत्स्य व्यवसायलाई लगानीमैत्री उद्योगका रुपमा विकास गर्ने उद्देश्यले आयोजना हुन लागेको सम्मेलनमा मत्स्य अनुसन्धान, विकास तथा शिक्षासम्बन्धी २० वटा कार्यपत्र प्रस्तुत गरिने आयोजकले बताएका छन् ।
पत्रकार सम्मेलनमा मत्स्य विकास निर्देशक रमानन्द मिश्रले सम्मेलनमा ५० कक्ष समावेस गरिने जानकारी दिनुभयो ।
नेपाल मत्स्य समाज, नेपाल मत्स्य व्यवसायी सङ्घ, नेपाल सरकार, मत्स्य विकास निर्देशनालय र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लगायतका संस्थाको संयुक्त सक्रियतामा उक्त महोत्सव आयोजना हुन लागेको हो ।
विभिन्न २५ जिल्लाका मत्स्य व्यवसायीले चेतनामूलक १०, व्यवस्थामूलक २० र परिकारमूलक २० कक्ष सम्मेलनमा प्रदर्शन गर्नेछन् ।
















प्रतिक्रिया