१ कार्तिक २०८३, शनिबार

चिनियाँ विज्ञहरूको सुझाव : बच्चा छैन ? कर तिर्नुस्

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ, २ भदौ । चीनका दुई जना विज्ञले चिनियाँ नागरिकलाई जवरजस्ती बच्चा जन्माउने गराउन एउटा विवादास्पद उपाय सुझाएका छन् ।

उनीहरूले बच्चा जन्माउन बाध्य पार्न बच्चा नजन्माउनेलाई कर तिराउने व्यवस्था गर्न सुझाव दिएका हुन् ।

जनसङ्ख्या घट्दै गएको समस्याबाट ग्रसित चीनमा जनसङ्ख्या न्युनिकरण घटाउन दुई भन्दा कम सन्तान जन्माउनेलाई वा नजन्माउनेलाई ‘प्रजनन कोष’ मा कर तिर्ने व्यवस्था गर्न सुझाव दिइएको छ ।

विज्ञहरूको यो सुझावलाई लिएर अहिले चीनभरी पक्ष र विपक्षका तर्क र वितर्क गर्दै बहस चलिरहेको समाचारमा जनाइएको छ ।

कम्युनिष्ट पार्टीले लागु गरेको ‘एक सन्तान’को नारा सहितको परिवार नियोजनसम्वन्धी नीतिका कारण जनसङ्ख्या घटेको कतिपयको भनाई छ ।

विश्वकै सबैभन्दा धेरै जनसङ्ख्याभएको मुलुकमा अहिले जनसङ्ख्या घट्दै गएपछि देशको अर्थतन्त्रमा समेत नकारात्मक असर परेको ठानिएको छ ।

लैङ्गीक तथा जनसाङ्ख्यीक असन्तुलन बढेपछि सामाजिक समस्याहरू पनि थपिदै गएको सरोकारवालाहरूले बताएका छन् ।

चीनले जनसङ्ख्या बढ्ने अपेक्षा सहित सन् २०१६ मा कानूनलाई खुकुलो बनाउँदै एकभन्दा बढी सन्तान जन्माउन सकिने व्यवस्था गरिएको थियो । तर पनि जनसङ्ख्या अपेक्षित रूपमा र आवश्यकता अनुसार बढ्न नसकेको तथ्याङ्कले देखाएको छ । त्यसैले अहिले यसका बारेमा पुनः विचार गर्नुपर्ने अवस्था आएको छ ।

चिनियाँ राज्यद्वारा सञ्चालित सिन्ह्वा दैनिकमा बिहीबार दुई विज्ञले जनसङ्ख्या घट्दै गएको सम्वन्धी अहिलेको समस्यालाई न्युनीकरण गर्नका लागि नयाँ प्रस्ताव सहितको लेख लेखेका छन् ।

उनीहरूले ४० वर्षभन्दा कम उमेरका दम्पत्तिले दुईभन्दा कम सन्तान जन्माएमा वा जन्माउदै नजन्माएमा अरुलाई सहयोग पुर्याउन वार्षिक रूपमा एउटा कोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्था गर्नु उपयुक्त हुने उल्लेख गरेका छन् ।

‘जब कसैले दुई वा दुई भन्दा बढी सन्तान जन्माउछन्, तब उनीहरूले सो कोषमा राहत रकमका लागि दावी गर्न सक्नेछन्’, नान्जीङ विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापकद्वय लिउ झिविओ र झाङ येले लेखेका छन् ।

क्षतिपूर्ति वा राहत रकम दावी गर्दा सन्तान जन्माउदा लागेको खर्च वा त्यस क्रममा आम्दानीमा भएको गिरावट उल्लेख गर्नु पर्ने र त्यस वापतको भुक्तानी कोषबाट गर्नु पर्ने व्यवस्था गर्न उनीहरूले सुझाएका छन् ।

उनीहरूले पर्याप्त मात्रामा शिशु स्याहार केन्द्रहरू खोल्नु पनि जन्मदर बढाउने अर्को सहयोगी उपाय हुन सक्ने बताएका छन् ।

दुईभन्दा बढी सन्तान जन्माउनेलाई सेवा निवृत्त भएपछि विषेश आर्थिक व्यवस्था गरिदिएमा उनीहरू सन्तान जन्माउन प्रेरित हुने अपेक्षा गरिएको छ ।

दुई विज्ञको सुझावहरूलाई लिएर विभिन्न सामाजिक सञ्जालहरू चिनियाँ नागरिकहरूले पक्ष र विपक्षमा बहस गरिरहेका छन् ।

उनीहरूको प्रस्तावप्रति व्यङ्ग्य गर्दै एक जनाले सामाजिक संजालमा लेखेका छन्, ‘सरकारले जन्मदर बढाउन चाहन्छ भने बहुविवाहका लागि किन छुट दिदैन त ?’

राज्यद्वारा सञ्चालित प्रसारण संस्था सिसिटीभिको अनलाइन संस्करणमा पनि यस प्रस्तावलाई ‘निराधार, अव्यवहारिक र अनुचित’ प्रस्तावको रूपमा टिप्पणी गरिएको छ ।

टिप्पणीमा अगाडि लेखिएको छ, ‘यो प्रस्तावमा आम बुझाइको कमी देखिएको छ भने अध्ययन अनुसन्धान सम्वन्धी व्यवसायिकताको अभाव प्रष्ट भएको छ ।’

चीनले जनसङ्ख्या घटाउन यसअघि लागु गरेको एक सन्तान नीतिले चीनमा जनसङ्ख्या घट्नेक्रम चलिरहेकाले सरकारलाई अहिले यो चिन्ताको विषय भएको छ । सन् १९७० को दशकदेखि पछाडी जनसङ्ख्या नियन्त्रणको अभियान चलाइएको थियो ।

जनसङ्ख्याघटाउने अभियान अन्तर्गत दुई वा सो भन्दा बढी बच्चा जन्माउनेलाई दण्ड जरिवानाको व्यवस्था गरिएको थियो भने महिलाहरूलाई गर्भपतनका लागि प्रोत्साहन गरिएको थियो ।

एक भन्दा बढी सन्तान जन्माउन पाइने खुकुलो नीति सन् २०१६ मा लागु गरिएपछि भने जन्मदर केही बढेको राष्ट्रिय तथ्याङ्क विभागले जनाएको छ । एएफपी