
काठमाडौं, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीहरुलाई आफ्ना गतिबिधी कृषिमा केन्द्रीत गर्न आग्रह गरेका छन् । राष्ट्रिय सहकारी महासंघको प्रतिनिधी मण्डलसँग बिहीबार सिंहदरबारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् ।
ओलीले कृषिमा देशको करिब दुई तिहाई जनसंख्या निर्भर भएकोले यो क्षेत्रलाई आधुनिकीकरण नगरी देशमा समृद्धि हासिल नहुने बताए । ‘सहकारीले कृषिमा आधुनिकीकरणका लागि खेती प्रणालीलाई ठूला–ठूला प्लटमा लैजानु पर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘कृषिमा यान्त्रिकीकरण र प्रविधिको प्रयोगबाट उत्पादन र उत्पादकत्व दुवै बढाउन सकिन्छ । यो कुरा सहकारीको प्राथमिकतामा हुनुपर्दछ ।’
प्रधानमन्त्री ओलीले सहकारीहरु ऋण तथा बचतमा मात्र केन्द्रीत हुुनु नुहने बताए । ‘सहकारीहरुले उपभोग्य वस्तु, निर्यातजन्य वस्तुको उत्पादनमा जोड दिनु पर्दछ’, ओलीले भने । किसानलाई आधुनिक खेतीतर्फ प्रोत्साहन गर्नका लागि सहकरीले सस्तो व्याजमा ऋण उपलब्ध गराउनु पर्ने र त्यसका लागि सरकारले सहकारीहरुलाई सहयोग गर्ने उनको प्रतिवद्धता छ ।
‘वर्तमान सरकार सहकारीमैत्री छ । सहकारीले भोगेको कानुनी अफ्ठयारालाई हल गर्न सरकार तयार छ’, प्रधानमन्त्री ओलीले भने, ‘कुन ऐनले कहाँकहाँ अफ्ठ्यारो पारेको छ । लेखेर ल्याउनुहोस् । त्यसलाई सम्बोधन गर्न सरकार तयार छ ।’
सरकारले लागू गरेको प्रधानमन्त्री कृषिआधुनिकीकरण परियोजनालाई सफल पार्न पनि सहकारीहरुको ठूलो भूमिका हुने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले परियोजनामार्फत १ हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा गरिने खेतीलाई सुपर जोन र ५ सय हेक्टर भन्दा बढी क्षेत्रफलमा गरिने खेतीलाई जोनको रुपमा विकास गरिएको उल्लेख गरे ।
‘चक्लाबन्दी भएको जग्गालाई भडामा लिएर एउटै प्लट बनाएर ठूलो मात्रामा खेती गर्ने काम सहकारीहरुले गर्नुपर्दछ’, ओलीले भने । महासंघका अध्यक्ष केशव वडालले प्रस्तावित सहकारी ऐनमा भएका केही प्रावधानहरु सच्याउन माग गर्दै प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।















प्रतिक्रिया