काठमाडौँ, २ माघ । संविधानसभाको आजको बैठकमा संविधानका अन्तर्वस्तुमा छलफल जारी रह्यो ।
आजैको बैठकमा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले समितिको प्रतिवेदन सभासमक्ष पेस गर्दै अन्तर्वस्तुमा छलफल गर्न आग्रह गर्नुभएको थियो । संविधानसभामा प्रतिनिधित्व गरेका राजनीतिक दल संसदीय दलका नेता तथा उहाँहरूका तर्फबाट छलफलमा भाग लिँदै सभासद्ले जनताका सामु गरेको प्रतिबद्धताअनुसार माघ ८ गते नै संविधान जारी गर्न नसके आफूहरूलाई जनताले क्षमा नगर्ने बताउनुभयो ।
संविधानसभा निर्वाचनका बेला दलहरूले जारी गरेको घोषणापत्रअनुसार सङ्घीयतासहितको संविधान दिएर देशलाई समाधान दिनुपर्नेमा जोड दिँदै उहाँहरूले सहमतिको प्रयास कायम गर्दै संविधान बनाउनेतर्फ सबै दल केन्द्रित हुनुपर्छ भन्नुभयो ।
केही सभासद्ले तत्काल प्रक्रियामा जानुपर्ने बताउनुभयो भने केहीले सहमतिका आधारमा नै अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो । प्रमुख राजनीतिक दलका शीर्ष नेताका कारण संविधान निर्माण प्रक्रियाले गति लिन नसकेको बताउँदै केही सभासद्ले भने सहमति वा प्रक्रिया के हो सोको पनि निरुपण हुनुपर्नेमा जोड दिनुभएको थियो । प्रक्रियामा जान पनि सहमति जुटाउनुपर्ने आवश्यकता उहाँहरूले औंँल्याउनुभयो ।
सङ्घीय समाजवादी पार्टीका अशोककुमार राईले सहमति कायम गर्नका लागि प्रधानमन्त्रीले नेतृत्व लिनुपर्ने विचार व्यक्त गर्नुभयो । नेपाली काँग्रेस र नेकपा(एमाले)का तर्फबाट पेस भएको नौबुँदे प्रस्ताव गलत भएको भन्दै त्यसले नेपाली जनताको भावनालाई आत्मसात् गर्न नसक्ने उहाँको तर्क थियो ।
नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले एक वर्षभित्र संविधान जारी गर्ने वाचा गरेका दलले आफ्नो जिम्मेवारी पूरा नगरेका कारण उनीहरुलाई अयोग्य घोषणा गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

छलफलमा तराई–मधेस सद्भावना पार्टीका महेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, नेकपा (संयुक्त)का जयदेव जोशी, राष्ट्रिय जनमुक्ति पार्टीका शिवलाल थापा, थरुहट तराई पार्टीका गोपाल दहित, नेपाः राष्ट्रिय पार्टीका लक्ष्मण राजवंशी, सङ्घीय सद्भावना पार्टीका डिम्पलकुमारी झा, एकीकृत नेकपा(माओवादी)का श्याम श्रेष्ठ र सुरेन्द्र कार्की, मधेसी जनअधिकार फोरम नेपालका डा सुबोधकुमार पोखरेल तथा सभासद् जङ्गीलाल राय, योगेन्द्र तामाङ, लक्ष्मीकुमारी चौधरी, उषा यादव, इन्दिरा झा, निशाकुमारी साह, उमेशकुमार यादवलगायतले भाग लिनुभएको थियो ।
संविधानसभाको अर्को बैठक यही माघ ३ गते बिहान ११ः३० बजे पुनः बस्नेछ । रासस
















प्रतिक्रिया