
-मिना बुढाथोकी
सल्यान, २८ साउन । सल्यानको दार्मा स्वास्थ्य चौकीबाट नौ हप्तासम्मको निःशुल्क सुरक्षित गर्भपतन सेवा शुरु भएको छ । निःशुल्क र सुरक्षित गर्भपतन सेवा शुरु भएसँगै त्यहाँका स्थानीय खुशी भएका छन् ।
परिवार नियोजनको साधनको प्रयोग बारे खुलेर कुरा नगर्ने ग्रामीण क्षेत्रमा निःशुल्क र सुरक्षित गर्भपतन सेवा शुरु हुँदा यहाँका महिलाहरुलाई धेरै राहत हुने साबिकको एक नम्बर वडाकी महिला स्वास्थय स्वयंसेविका डिला शर्मा केसीले बताईन् ।
नौ हप्ता सम्मको निःशुल्क र सुरक्षित गर्भपतन सेवाका प्रकृया तथा गर्भपतन सम्बन्धी राज्यले तोकेका नीतिगत व्यवस्थाका बारेमा यस गाउँपालिकाका साबिकका नौ वडाका महिला स्वास्थ्य स्वयंसेविकाले तालिम लिएको तालिममा सहभागी अर्का महिला स्वास्थ्य स्वयंसेविका पुतला हमालले बताईन् ।
‘यसअघि यहाँका महिलाहरुले गर्भपतन गर्नु परेमा जिल्ला सदरमुकाम खलंगामा रहेको अस्पतालमा धाउनु पर्ने बाध्यता थियो’ महिला स्वास्थ्यस्वयंसेविका हमालले भनिन्, ‘यहाँका कतिपय महिलाले असुरक्षित रुपमा गर्भपतन गराउँदै आएका थिए, हाम्रो सल्लाहमा केही महिला जिल्ला अस्पतालसम्म पुगेपनि कतिपय महिलाले भने गर्भपतन गराउने झन्झटले धेरै सन्तान जन्माउने गर्थे, तर अब यो समस्याबाट छुटकारा पाइने भयो ।’
जिल्ला जनस्वास्थय कार्यालय सल्यान र परिवार नियोजन सम्बन्धी काम गर्दै आएको पीएसआई नेपालको सहकार्य तथा दार्माकोट स्वास्थ्यचौकीको आयोजनामा निःशुल्क सुरक्षित गर्भपतन सेवा शुरु भएको हो ।
जिल्लाका ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलाहरुलाई लक्षित गर्दै ग्रामीण क्षेत्रबाट नै सहजै सेवा पुर्याउने उद्देश्यले जिल्लाका विभिन्न स्वास्थ्यचौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रहरुमा यस प्रकारको कार्यक्रम संचालन गरेको पीएसआई नेपालका जिल्ला संयोजक रेशम डिसीले बताए ।
निःशुल्क तथा सुरक्षित गर्भपत सेवा दार्मा गाउँपालिकाको स्वास्थ्य चौकीमा शुरु गरेसँगै यहाँका स्थानीय महिलाले यसबाट लाभ लिन सक्ने जिल्ला जनस्वास्थ्य कार्यालय सल्यानका परिवार नियोजन सुपरभाईजर अधिकृत खिमेन्द्र शाक्यले जनाए ।
भर्खरै मात्र यस जिल्लामा कार्यक्रम लागू भएको जानकारी गराउँदै उनले यहाँको कोटबारा स्वास्थय चौकी, थारमारे प्राथमिक स्वास्थ्य केन्द्र, त्रिवेणी स्वास्थ्य चौकीबाट पनि नौ हप्तासम्मको निःशुल्क तथा सुरक्षित गर्भपत सेवा संचालन भएको उनले बताए ।












प्रतिक्रिया