काठमाडौं, २ माघ । संविधान निर्माणको मिति नजिकिँदै गर्दा प्रेस चौतारी नेपालले देशभरबाट सभासदहरुलाई खबरदारी गरेको छ ।
प्रेस चौतारी नेपालको केन्द्रीय कार्यक्रम अनुसार, देशभरका शाखाहरुले सभासदहरुलाई संविधान लेखनमा खबरदारी गरेका छन् । यसैक्रममा प्रेस चौतारी चितवनले सांकेतिक रुपमा सभासद्हरुलाई खाद्य सामग्री पठाएको छ ।
चितवन प्रशासनमार्फत चौतारीले दाल, चामल, नुन तेल र बेसार गरी पाँच खाद्य सामग्री पठाएको प्रेस चौतारी चितवनका अध्यक्ष तीर्थ नेपालले जानकारी दिनुभयो ।
सभासद्हरुले रातदिन बसेर संविधान निर्माण गरुन् भन्ने उद्देश्यले खाद्य सामग्री संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र सबै सभासद्हरुलाई पठाएको प्रेस चौतारी चितवनले जनाएको छ ।
केन्द्रीय कार्यक्रमअन्तर्गत भएको कार्यक्रममा बोल्दै प्रेस चौतारीका मध्यमाञ्चल अध्यक्ष तिलक रिमालले समयमै संविधान निर्माण गर्न दलहरुलाई आग्रह गर्नुभयो ।
यस्तै पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोख्रेलले समयमै संविधान जारी नभए देशलाई नै असर गर्ने भन्दै दलहरुलाई ध्यानाकर्षण गराउनुभयो ।
यसैबीच, प्रेस चौतारी नेपाल गुल्मी शाखाले पनि संबिधान सभाका सभासदहरुलाई तोकिएकै मितीमै संबिधान जारी गर्न भन्दै खाद्यान्न सामाग्री पठाएको छ ।
शुक्रवार प्रेस चौतारी नेपालको केन्द्रिय कार्यक्रम अनुसार गुल्मीका प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरेमार्फत खाद्यान्न, नुन, तेल, चामल र ध्यानाकर्षण पत्र संविधान सभामा सांकेतिक रुपमा दबाब दिन सामाग्री पठाइएको प्रेस चौतारी नेपाल गुल्मीका उपाध्यक्ष अनिल खत्रीले जानकारी दिनुभयो ।
यसैगरी, म्याग्दी लगायतका शाखाहरुले सभासदहरुलाई विभिन्न कार्यक्रम गरी सभासदहरुलाई खबरदारी गरेका छन् ।
यसअघि, प्रेस चौतारीले संविधान निर्माणका लागि दबाब स्वरुप प्रशासनमार्फत संविधानसभा अध्यक्षलाई एक ज्ञापनपत्र बुझाएको थियो ।

















प्रतिक्रिया