१ कार्तिक २०८३, आइतबार

क्यानभासमा सिक्लेस गाउँ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

???????????????????????????????

आश गुरुङ

सिक्लेस(कास्की), माघ २ गते । बेलायतबाट माघे संक्रान्ति मेला हेर्न सिक्लेस आएका मीनप्रसाद गुरुङलाई प्रदर्शन तथा विक्रीमा राखिएका चित्रमध्ये सवै मन पर्‍यो । अन्ततः उनले सवैभन्दा महंगो १६ हजार रुपैयाँ मुल्य पर्ने चित्र रोजे । तमू धीँ यूकेका अध्यक्ष समेत रहेका गुरुङले आफ्नो जन्मभूमिप्रति कलाकारले पोखाएको कलालाई सम्मान गर्न आफूले गाउँ र हिमाल देखिने गरि बनाएको चित्र रोजेको बताए । पोखराका कलाकार सूर्य बराईलीले बनाएको चित्रमा सिक्लेस गाउँ, बाटोमा गुरुङ पोषाक लगाएर हिँड्दै गरेको अधबैँसे र गाउँ पछाडि अन्नपूर्ण अनि लमजुङ हिमाल देख्न सकिन्छ ।

बेलायतस्थित एक अस्पतालका स्टाफ नर्स ईन्द्रा गुरुङले कलाकार किरण रञ्जितले कोरेको चित्र रोजिन् । १५ हजार मुल्य पर्ने चित्रमा गाउँको बीचबाटोमा पानी भरेर जाँदै गरेकी गुरुङसेनीलाई देख्न सकिन्छ । पछाडि गाउँ र हिमालको चित्र छ । अहिले पोखरामा बस्दै आएका कूलप्रसाद गुरुङलाई आफ्नै घरसहित कोरिएको चित्र मन पर्‍यो  । कलाकार बुद्धि गुरुङले बनाएको चित्रलाई उनले रोजे । आफ्नो बारीसहित देखिएको चित्र देखाउँदै उनले भने, ‘यो मेरो पुर्खाको नासो हो, यसलाई जोगाएर राख्छु ।’

???????????????????????????????

सिक्लेस पार्चे बहुउद्देशीय निर्माणाधिन भवनमा प्रदर्शनमा राखिएको चित्रमा स्वदेशी तथा विदेशी पर्यटकको मन गढेको छ । बेलायतबाट आएका पर्यटक जेरेमी डी रुम्मोण्डले, कलाकार थमन सुनारले कोरेको परालको टौवा, गाउँ, हिमाल साथै हिमालमा बादलुको घुम्टो देखिएको चित्र रोजे । उनले चित्र साह्रै राम्रो लागेको भन्दै चित्रकारलाई धन्यावाद समेत दिए ।

‘क्यानभासमा सिक्लेस’ नाम दिएर ५० भन्दा बढी कलाकारले सिक्लेसको सचित्र उतारेका हुन् । २ साताअघि उतारिएको चित्रले माघे संक्रान्ति मेलामा आएका आन्तरिक तथा बाह्य पर्यटकको मन तानेको छ । नेपाल प्रहरीका पूर्व आईजीपी हेमबहादुर गुरुङले प्रदर्शनीको उद्घाटनपछि स्वदेशी तथा विदेशी पर्यटकले सिक्लेसको चित्र हेर्ने अवसर पाएका हुन् । जापानबाट सिक्लेस आएकी नानाको योशिमोतोले सिक्लेस गाउँको चित्रण चित्रमा देख्न पाउँदा निकै खुसी लागेको बताईन् । ‘मलाई सिक्लेस मन पर्छ’, नेपाली भाषामा बोल्दै उनले भनिन्, ‘सिक्लेस भन्दा अझ धेरै चित्र मन परेको छ ।’ उनले कलाकारले कोरेका स्थानीय रहनसहन, गाउँको चित्र, संस्कृति लगायत सवै मन परेको बताईन् । चित्र देखेर स्वदेशी तथा विदेशी पर्यटकमात्रैमात्रै हैन, स्थानीय समेत दंग छन् । ८१ वर्षीया हाईसुब्बा गुरुङले आफ्नो अनुहार चित्रमा हेरिन् । कलाकार आलोक गुरुङले कोरेको चित्र हेर्दै उनले भनिन्, ‘मेरो अनुहार त मुजामुजा परेछ, अब त डाँडामाथिको घाम भईगयो ।’

पोखरा वाटरकलर सोसाईटीको सहकार्यमा पुस ९, १० र ११ गते ३ दिन लगाएर पोखरा र काठमाण्डौँका कलाकारले कोरेको चित्रलाई सिक्लेसमा आयोजना गरिएको माघे संक्रान्ति मेलामा प्रदर्शन गरिएको मेला आयोजक समितिका संयोजक देवीजंग गुरुङले बताए । क्यानभासमा सिक्लेस एवं चित्र प्रदर्शनीका संयोजक दलबहादुर गुरुङले प्रदर्शनीमा राखिएका अधिकांश चित्रहरुको विक्री तथा बुकिङ भईसकेको बताए । ‘चित्रले स्वदेशी तथा विदेशी पर्यटकको मन तानेको छ’ कलाकार समेत रहेका दलबहादुरले भने, ‘सिक्लेसमै पहिलोपटक आयोजना गरिएको चित्रकला उत्सव २०७१ बाट तयार पारिएको चित्रले सिक्लेसको पर्यटन प्रवद्र्धनमा टेवा पुगेको छ ।’

सिक्लेस युवा क्लवको आयोजनामा माघ १ गतेदेखि ४ गतेसम्म संचालन भईरहेको माघे संक्रान्ति मेलामा चित्रकला प्रदर्शन स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बनेको क्लवका सल्लाहकार गेहेन्द्र गुरुङले बताए ।

पोखराको काहुँखोलाबाट ४२ किलोमीटर उत्तरपूर्वी क्षेत्रमा पर्ने गाउँसम्म मोटरबाटो पुगेपछि अहिले स्वदेशी तथा विदेशी पर्यटकको गन्तब्यस्थल सिक्लेस बनेको स्थानीयले बताएका छन् ।