
काठमाडौं । ‘संघर्ष छैन भने सफलता पनि हुँदैन’ भन्ने भनाईको पयार्य हुन् लोक गायिका सरिता कार्की । गोरखाको आँपपिपलमा जन्मिएकी सरिताले गाउँका पूजा, सांस्कृतिक कार्यक्रममा गीत गाउने बानीलाई संघर्षको मैदानमा लिएर आइन् । गाउँका भाका, लयलाई समातेपछि छाडिनन् । त्यसैले अहिले उनी एक कुशल लोक गायिका पनि हुन् ।
५ दिदीबहिनी र २ दाजुभाईमा कान्छी हुन् सरिता । निम्न मध्यम परिवारमा जन्मिए पनि कान्छी भएकै उनले घरमा त्यति धेरै संघर्ष त गरिनन् । तर जब आफ्नो रहरको यात्रामा लागिन् अनि उनलाई कामको बोझ र जिम्मेवारीको भारी थाहा भयो । भन्छिन्,‘घर छाडेर गोरखा बजारमा दोहोरी साँझमा गाउन आएँ । बाहिरी संसारमा कसरी बाँच्नुपर्छ भन्ने ज्ञानको पहिलो खुड्कीलो त्यहि थियो ।’
१४ बर्षको उमेरदेखि गायनमा लागेकी सरिताले गोरखा बजारमा तमु दोहोरी साँझमा गीत गाइन् । गाउनै थालेको ११ बर्ष पुगेको छ । भन्छिन्,‘घरबाट हिँडेपछि गायनयात्रामा पहिलो पटक दोहोरी साँझमा गाएकै त्यहि हो ।’
गाउने रहर र गायक बन्ने धोको गोरखामा सीमित नहुने भएपछि उनले काठमाडौं आउने निधो गरिन् । ०६४ सालमा काठमाडौं छिरेकी सरिताले चाबहिलको नमस्ते दोहोरी साँझमा केही समय र त्यसपछि ४–५ वटा दोहोरी साँझमा काम पनि गरिन् ।
प्रत्येक साँझ जागिर खाने र रेस्टुरेन्टमा गीत गाउने कामले उनको सपनाको बाटो तय नहुने देखियो । मिठो स्वर, दोहोरीको लयलाई चारभित्ताको दोहोरी साँझमा मात्र होइन, हर समय सुनिने गरी ‘एक्स्पोजर’ हुनुपर्छ भन्ने उनको महत्वकांक्षा थियो ।
त्यसैले उनले ठमेलको पोखरा रोधी घरमा काम गर्दैगर्दा ०६८ सालमा पहिलो एल्बम निकालिन् । ‘कति रुनु छ र ?’ बोलको उनको गीत यति चल्यो कि उनले पुजा नवगायीका लोकदोहोरी अवार्ड समेत हात पारिन् । ‘त्यसपछि मेरो बाटो सशक्त हुन्छ भन्ने मलाई लाग्यो र म निरन्तर गीतमा अभ्यस्त हुन थालें’, सरिता थप्छिन्,‘तिजलगायत दुई दर्जन एल्बम् निकालिसकेको छु ।’
उनले दोहोरी साँझमा गाउन छाडिन् । बरु, आफैं दोहोरी रेस्टुरेन्ट चलाइन् । धुम्बाराहीमा सुनखानी रोधी घर चलाइन् । उनले उक्त रोधी घर बेचीसकेकी छिन् । ‘स्टेज कार्यक्रममा व्यस्त हुन थालेपछि त्यसको व्यवस्थापन गर्न नसकेर बेचेकी हुँ’, उनी सुनाउँछिन्,‘नेपालका प्राय सबै जिल्ला पुगें, जापान दुई पटक पुगेर आएँ ।
सरिताले ‘काफल पाक्यो’ भन्ने फिल्ममा गीत पनि गाएकी छन् । उनलाई गीतमा हराउने धित अझै मरेको छैन । २५÷३० बढि गीत गाइसकेकी छन् अझै राम्रा लयमा धेरैलाई नचाउने उनको रहर छ ।















प्रतिक्रिया