
बुटवल, १७ साउन । वैदेशिक लगानी भित्र्याउन केन्द्रिय स्तरबाटै पहल भईरहेका वेला प्रदेश ५ मा भने लगानी बढेको छ ।
गत आर्थिक वर्षमा वैदेशिक लगानी बढेर ३३ अर्ब ८५ करोड २६ लाख ७० हजार रुपैयाँ पुगेको छ । यो आर्थिक वर्ष ०७३/७४ भन्दा झण्डै ७० प्रतिशतले बढि हो ।
प्रदेश ५ मा लगानीकर्ताहरुले ५३ नयाँ उद्योगहरुमा लगानी गरेका छन् । आर्थिक वर्ष ०७३र७४ मा ४३ नयाँ उद्योग दर्ता भएका थिए । उद्योगमा भएको कुल लगानीमध्ये ४ अर्ब ३८ करोड २९ लाख १० हजार ३ सय रुपैंयाँ वैदेशिक लगानी रहेको छ । यो प्रदेश नं ५ का लागि हालसम्मकै उच्च लगानी हो ।
वैदेशिक लगानी गर्ने राष्ट्रमध्ये सबैभन्दा अगाडि भारत रहेको छ । प्रदेशमा चीनले १ अर्ब ३५ करोड १० लाख रुपैंयाँ लगानी भित्राएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्याङ्कमा छ । प्रदेश नं ५ का लागि चीनको यो लगानी हालसम्म कै उच्च हो । यसबाहेक अन्य देशका लगानीकर्ताको पनि राम्रै उपस्थिति देखिएको छ ।
प्रायः लगानीकर्ताहरुले प्रदेशका तराईका जिल्लालाई अगानीको केन्द्र बनाएका छन् । तराईका जिल्लामा उनीहरुले बढि लगानी गरेको पाईएको छ । वैदेशिक लगानी पाउने जिल्लाहरुमा तराईको नवलपरासी पश्चिम सबैभन्दा अगाडी रहेको छ । त्यस्तै दोस्रो धेरै लगानी भित्रिने जिल्ला पनि तराईकै रुपन्देही हो । रुपन्देहीमा गत आर्थिक वर्षमा ५५ औद्योगिक परियोजनामा ५०९१.०५ मिलियन वैदेशिक लगानी भएको भएको छ ।
त्यसपछिको लगानीकर्ताको रोजाई भने पाल्पामा रहेको छ । बर्दिया, कपिलबस्तु, प्युठान, अर्घाखाँची लगायतका जिल्लामा पनि उल्लेख्य रुपमा वैदेशिक लगानी भित्रिएको मन्त्रालयले जनाएको छ ।
वैदेशिक लगानी बढेसँगै उद्योग दर्ताहुने क्रम पनि बढेको छ । विशेषगरी तराईका जिल्लाहरुमा उद्योगको संख्यामा वृद्धि भएको मन्त्रालयको तथ्याङ्क छ ।















प्रतिक्रिया