
भैरहवा, साउन १६ । रुपन्देहीको पक्लिहवा कृषि क्याम्पसमा अध्ययनरत भेटनरीका विद्यार्थी आन्दोलित भएका छन् । मंगलवारदेखी क्याम्पस प्रशासन समक्ष विभिन्न माग राख्दै विद्यार्थीहरु रिले अनसनमा बसेका छन् ।
भेटेरिनरी संकायमा रहेका बिभिन्न समस्याहरु समाधानका लागि सम्बन्धित निकायलाई जानकारी गराउँदा समेत व्यवास्ता गरेकोले आन्दोलन गर्न बाध्य भएको क्याम्पसमा अध्ययनरत विद्यार्थी सुमन भण्डारीले बताए । उनले क्याम्पस प्रशासनले तत्काल माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिए ।
आन्दोलनरत विद्यार्थीले क्याम्पसभित्र रहेको भेटेरिनरी हस्पिटल उचित रुपमा संचालन हुनुपर्ने, हस्पिटलमा भेटेरिनरी डाइरेक्टर नियमित रुपमा उपस्थित हुनुपर्ने, आवश्यक दरवन्द पूर्ति हुनुपर्ने, आवश्यक उपकरण तथा औषधी उपलब्ध हुनुपर्ने लगाएतका माग अघि सारेका छन् ।
यस्तै क्याम्पसमा आवश्यक कार्यनिर्देशन क्लिनिकल प्राक्टिसको व्यवस्था गरिनुपर्ने र विषयगत शिक्षक नियमित रुपमा उपलब्ध हुनुपर्ने लगाएतका माग विद्यार्थीको छ । माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने विद्यार्थीले चेतावनी दिएका छन् ।
वार्तामा क्याम्पसका डीन अनिवार्य रुपमा बस्नुपर्ने माग विद्यार्थीले अघि सारेका छन् । यसअघि भएका सहमतीलाई पुरनावलोकन गरी कार्यान्वयन गर्नुपर्ने समेत उनीहरुको माग छ ।












प्रतिक्रिया