
भैरहवा, साउन १६ । भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) शिक्षण अस्पतालको आइसीयू कक्षको भित्र बाहिर गरिरहेकी हुन्छिन् करिब ३० वर्षिय एक युवती । उनको अनुहारमा छटापटाहट देखिन्छ, अनुहार उडेर सेतै भएको छ ।
विगत १५ दिनदेखि एउटै पोशाकमा छिन् । कपाल नकोरेको पनि सायदै धेरै दिन भएर होला कपाल पनि उडेको छ । बेला बेला कसैले नदेख्नेगरी भक्कानिन्छिन् । साथमा रहेका उनका दाजुले थमथमाउँछन् अनि फेरि सम्हालिन्छन् र १५ दिनदेखि आइसीयूको बेड नम्बर १ मा भेन्टिलेटरको सहयोगमा श्वास फेरिरहेका ४१ वर्षिय श्रीमान् डोरबहादुरलाई सिसा बाहिरबाट हेरेर टोहलाइरहन्छिन् ।
बिजुला थापाले श्रीमानको उपचारको लागि प्युठान गोठीबांगमा रहेको पाखोबारी पनि बेचि सकिन् । उनीसँग अब पहाडमा एउटा घर मात्रै छ । त्यो पनि बेचेर उपचार गर्न खोजेकी हुन् तर त्यो विक्री नभएपछि रुदैँ बस्दै गरेकी थिईन् ।
नाता कुटुम्ब सबैसँग ऋणधन गरेर करिब ४ लाख भन्दा बढी अस्पतालमा खर्च गरिसकेकी छन् । उनी श्रीमानलाई जसरी पनि बचाउन चाहिन्छन् । तर दैनिक २०, २५ हजार खर्च भईरहेको छ । उनी श्रीमानको उपचारमा भईरहेको खर्च र घरमा रहेका १२ वर्षिय अपाङ छोरा र एक ८ वर्षिय छोरीलाई सम्झेर सोच्नै नसक्ने अवस्थामा छिन् ।
‘कमाउने श्रीमान मर्नु न बाँच्नुको अवस्थामा हुनुहुन्छ । म के गरौं बेच्न मिल्ने भए म आफू बेचिएर पनि श्रीमानको उपचार गराउन चाहन्छु’ आईसियू बाहिर पत्रकारसंग दुखेसो पोखिन् । उनले आंखाभरी आशु पार्दै भनिन् , ‘यो देश हामी जस्ता गरिबको लागि रहेनछ । हामी गरिब बाच्नै नसकिने रहेछ । खै कसरी उपचार गर्ने हो । पछि फेरी ती नाबलकसँग कसरी बाँच्ने हो ।’












प्रतिक्रिया