
काठमाडौं, १४ साउन । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ विभाजनको संघारमा पुगेको छ । नेपाली कपडा तथा सिलाई व्यवसायीक क्षेत्रमा देखिएका समस्या र चुनौंती हल गर्न भन्दै झण्डै दुई दशक पहिले गठित संघ अहिले विभाजनको संघारमा पुगेको आरोप लगाइएको छ ।
केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठका कारण विभाजनको संघारमा पुगेको असन्तुष्टहरुको आरोप छ । ‘विशेषत वर्तमान अध्यक्ष रामकृष्ण श्रेष्ठका कारण संघको झण्डै २ दशक लामो यात्रामा संघ यति धेरै कमजोर भएको यो पहिलो पटक हो, संघ फुटको संघारमा पुगिसकेको छ,’ एक सदस्यले भने ।
अहिले संघमा देशभरका ५४ जिल्लाहरु सक्रिय सदस्यको रुपमा रहेका छन् । वर्तमान कार्यशैलीका कारण संघ अपेक्षाकृतरुपमा अघि बढ्न नसकेको, सिमित व्यक्तिको अधिनभित्र रहि संघलाई ठगी खाने भाँडोकारुपमा प्रयोग गरिएको, जिल्ला संघका सक्रिय सदस्यहरुलाई पाखा लगाई आफ्ना नजिकका व्यक्तिहरुलाई आफूखुसी कार्यसमितिमा मनोनयन गर्नेजस्ता अवान्छनीय गतिबिधि अगाडि बढेको असन्तुष्टहरुले बताएका छन् ।
अध्यक्ष श्रेष्ठले विधानसम्मत सम्पन्न विभिन्न जिल्ला संघका साधारणसभामा ठाडो हस्तक्षेप गरी आफूइतरका व्यक्तिलाई प्राथमिकता दिने, सक्षम, अनुभवी र मिहिनेती व्यक्तिहरुलाई पाखा लगाउने काम स्वयं अध्यक्षको तर्फबाट भइराखेको ती सदस्यले बताए ।
अध्यक्षको यस्तो रवैया तत्काल नसच्याए र जारी रहे संघ एउटै भएर बस्न नसक्ने चेतावनी दिएका छन् ।












प्रतिक्रिया