२१ कार्तिक २०८३, शनिबार

विश्व कीर्तिमानको तयारीमा केसी, आर्थिक सहयोग जुट्दै

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १३ साउन । सबैभन्दा लामो समय सम्म बोलेर नयाँ विश्व कीर्तिमान बनाउने तयारीमा जुटेका छन्, प्रखर वक्ता अनन्तराम केसी । केसीको सहयोगार्थ राजधानीमा आयोजित अन्तरक्रियामा सहभागीहरुले केसीको तयारीलाई मूर्त रुप दिन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने बताए ।

केसीको अभियान राष्ट्रिय प्रतिष्ठासँग जोडिएको भन्दै उनीहरुले सक्दो सहयोगको वचनवद्धता समेत जनाए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले केसीलाई अग्रीम शुभकामना दिँदै उनको अभियानलाई राजनीतिक आग्रह–पूर्वाग्रहले हेर्न नहुने बताए ।

प्रदेश सभासद् जीवन डंगोलले केसीको अभियानलाई सिंगो राज्यले नै सहयोग गर्नु पर्ने बताए । डंगोलले व्यक्तिगत तर्फबाट आर्थिक सहयोगको घोषणा समेत गरे । पूर्व सभासद् तथा नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले केसीको अभियानका लागि नेपाली कांग्रेस नुवाकोटको तर्फबाट ५१ हजार १ सय ५१ रुपैया सहयोगको घोषणा गरे ।

नेपाली कांग्रेस काठमाडौंका सभापति सबुज बानिँयाले केसीलाई सबै खाले सहयोग गर्ने वचन दिए । नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले केसीको अभियानमा नेविसंघको साथ रहेको बताए ।

आर्थिक सहयोग संकलन समितिका संयोजक रविन थपलियाको संयोजकत्वमा भएको कार्यक्रममा अन्य विविध पेशा तथा व्यवसायमा आबद्धहरुले पनि आर्थिक सहयोगको घोषणा गरेका थिए । केसीको विश्व कीर्तिमानको अभियान आगामी भदौ ११ गतेबाट राजधानीमा शुरु हुनेछ । केसीले न्यूनतम ८० घण्टा र बढीमा १०० घण्टासम्म लगातार बोल्ने बताउनु भएको छ ।

उनले आफूले बोल्ने विषय केवल बोल्नका लागि नभएर त्यसले समाजलाई केही सन्देश दिने खालको पनि हुने बताउँदै विभिन्न्न विधाहरु समेत छनोट गरिसकेको जानकारी दिएका छन् । केसीले अघिल्लो वर्ष लगातार ८० घण्टा ४ मिनेट भाषण गरी कीर्तिमान बनाएपनि पनि प्राविधिक त्रुटीका कारण त्यसलाई प्रमाणिकरण गरिएको थिएन ।

अहिले भारतका अश्विन सुडानीको नाममा लगातार ७५ घण्टा ३२ मिनेट बोलेको रेकर्ड छ ।