
काठमाडौं, १० साउन । विश्वमा खपत हुने २५ प्रतिशत कफी उत्पादन गर्ने ब्राजिलको एउटा कफि सहकारी संस्थामा कृषि, भूमी व्यवस्था राज्यमन्त्री रामकुमारी चौधरीले अध्ययन अवलोकन गरेकी छन् ।
साओ पाउलोदेखि २ सय ४० किलोमिटर टाढा रहेको मिनाज प्रान्तको ग्रामिण भेगमा रहेको कोओछुपे कफी सहकारी संस्थामा राज्यमन्त्री चौधरी पुगेकी हुन् । उक्त कफि उत्पादक संस्था विश्वकै नमुनामा पर्छ । २३ सय ५४ प्रशासकीय कर्मचारी, १४ हजार ५० जना किसान, १ लाख २५ हजार ८६ जना प्राविधिक र सहयाक कर्मचारी रहेको संस्थाले ११ हजार ८ सय २६ कन्टेनर राखेको छ । ‘नेपाल पनि कफि उत्पादनमा सक्षम देश हो तर प्रविधि र जनशक्तिका हिसाबले ब्राजिलको यो संस्थाबाट सिक्नुपर्नेछ’, चौधरीले भनिन् ।
३ सय ४७ नगरपालिका क्षेत्रमा रहेको यो संस्थाले बार्षिक २ करोड ५ लाख किलो कफि विदेश निर्यात गर्दै आएको राज्यमन्त्री चौधरीलाई संस्थाका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिएका थिए ।
कृषिमा प्रबिधि कसरी भित्राउने भन्ने विषयमा सहभागी हुन त्यहाँ पुगेकी चौधरीले कफि उत्पादनका विषयमा पनि कुराकानी भएको बताइन् । छलफलका क्रममा नेपाल र ब्राजीलबीच कफिलगायतका अन्य कृषि उत्पादनमा नविन प्रविधि, ज्ञानको आदानप्रदान गर्दै किसानलाई फिल्ड टु कप विषयमा तालिम दिने समझादारी भएको छ ।
राज्यको अनुदानबिना नै त्यहाँका कृषकले कफि उत्पादन गरिरहेका छन् । त्यसका लागि उक्त सहकारीले लगानी, प्राविधिक ज्ञान, उत्पादनको तरिका सिकाएर उचित रकम समेत दिने गरेको छ । सोही प्रविधि नेपाल भित्राउन सके कफि उत्पादनमा व्यापक परिवर्तनसहित आत्मनिर्भर बन्न सम्भव हुने चौधरीको बुझाई छ ।















प्रतिक्रिया