१ कार्तिक २०८३, आइतबार

किन आए राष्ट्रसंघका महासचिव बान की मुनका विशेष प्रतिनिधि ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jeffrey-feltman

काठमाडौँ, २९ पुस । नेपालमा राजनीतिक संकट गहिरिँदै गर्दा संयुक्त राष्ट्र संघका महासचिव वान की मुनका विशेष प्रतिनिधि नेपाल आइपुगेका छन् ।

राष्ट्र संघका राजनीतिक मामिलासम्बन्धी उपमहासचिव जेफ्री फेल्टम्यान नेपालको तीन दिने भ्रमणमा आएका हुन् । नेपाल भ्रमणमा रहँदा नेपालका राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्ने फेल्टम्यानको योजना छ ।

नेपाल आइपुग्नासाथ उहाँले परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेसँग शिष्टाचार भेटर्वार्ता गर्नुभएको छ । परराष्ट्र मन्त्रीकै कार्यकक्षमा भएको द्विपक्षीय भेटवार्तामा उपमहासचिव फेल्टम्यानले नेपालको गणतन्त्र, स्वतन्त्रता र सर्वभौमिकतासहित सबै नेपालीको भावना समेट्ने गरी नयाँ संविधान निर्धारित मितिमा नै जारी होस् भन्ने राष्ट्र संघको चाहना रहेको बताउनुभयो ।

भेटवार्तापछि रासससँग संक्षिप्त कुराकानी गर्दै मन्त्री पाण्डेले आफूहरूबीच संविधान लेखनका सन्दर्भमा हालसम्म भएका प्रगतिका साथै प्रजातान्त्रिक पद्धतिबाटै संविधान निर्माण गरेर नेपाललाई शान्ति र समृद्धिको मार्गमा अगाडि बढाउने प्रयत्न भइरहेको जानकारी आफूले उपमहासचिव फेल्टम्यानलाई गराएको बताउनुभयो ।

“नेपाली जनताका प्रतिनिधिले जनआकांक्षाअनुसार संविधान बनाउने र त्यस निम्ति वर्तमान संविधानसभा क्रियाशील रहेको मैले अवगत गराएँ,” उपमहासचिवसँगको छलफलका विषय प्रष्टाउँदै उहाँले भन्नुभयो ।

माघ ८ भित्र संविधान जारी गर्ने सन्दर्भमा विपक्षी दलहरूसँग हुने सहमति र समझदारीका बारेमा पनि आफूहरूबीच छलफल भएको जानकारी दिँदै “समझदारीका विभिन्न तह हुन्छन् सम्भव भएसम्म सहमति र समझदारी कायम गरेर अघि बढ्ने पक्षमा छौँ” उपमहासचिवलाई जानकारी गराएको प्रसङ्ग कोट्याउँदै मन्त्री पाण्डले भन्नुभयो ।

पूर्ण समझदारी कही पनि हुँदैन भन्ने वास्तविकता स्वीकार गर्दै उपमहासचिव फेल्टम्यानले राष्ट्र सङ्घमा राजनीतिक मामिला हेर्ने अघिकारी भएका नाताले राजनीतिकरुपमा नेपालको उज्ज्वल भविष्यको कामना गर्नुभएको मन्त्री पाण्डेले बताउनुभयो ।

उपमहासचिव फेल्टम्यानले मंगलबारै संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग पनि भेटवार्ता गर्नुभयो । भेटमा संविधान लेखनमा देखिएका अल्झन, भावी राजनीतिक संकट लगायतका विषयमा छलफल भएको थियो ।