
-मोहन पौडेल
परासी, ८ साउन । ४० वर्षदेखि मिल्न नसकेको जग्गा सम्बन्धि एउटा विवाद रामग्राम नगरपालिकाको न्यायिक समितिले मेलमिलापको माध्यमबाट मिलाउन सफल भएको छ । रामग्राम नगरपालिका वडा नं. १५ का अवधराज विश्वकर्मा र भगौती पासीबीच रहेको जग्गा सम्बन्धि विवाद चालिस वर्षपछि आएर मेलमिलापमा मंगलबार टुंगिएको हो ।
चालिस वर्षसम्म उनीहरु विवाद मिलाउन तत्कालिन गाविस कार्यालय, प्रहरी, जिल्ला प्रशासन कार्यालय लगायतका निकायमा धाउँदा पनि विवाद समाधान भएको थिएन । रामग्राम नगरपालिकाको न्यायिक समितिमा गत जेठ २० गते दर्ता भएको विवाद मंगलबार मेलमिलाप मार्फत टुंग्याउन सफल भएको रामग्राम नगरपालिकाका मेलमिलाप संयोजक रामजी शहानीले जानकारी दिए ।
अवधराज विश्वकर्माको नम्बरी जग्गाको अगाडि रहेको भगौति पासीको घरको विषयमा दुवै पक्षबीच विवाद थियो । न्यायिक समितिमा पनि अवधराजले सो घर हटाउनुपर्ने माग राखेर निवेदन दिएका थिए भने भगौतिले आफूलाई हटाउन खोजिएको भन्दै न्याय माग्दै निवेदन दिएका थिए ।
लामो छलफल पछि विवाद मिलाउन सफल भएको न्यायिक समिति संयोजक रम्भा कुंवरले जानकारी दिइन् । दुवै पक्षबीच भगौति पासीको घर आगामी कार्तिक मसान्त भित्र हटाई सो घर बनेको ईट्टा, ढुंगा, काठहरु भगौति पासीले लैजाने र सामग्री लैँजादा लाग्ने खर्च अवधराजले आजै भगौतिलाई दिने सहमति पत्रमा हस्ताक्षर भएको छ ।
हस्ताक्षर पछि अवधराजले आजै खर्च बापत उपलब्ध गराएको दश हजार पाँच सय रुपैँया न्यायिक समिति संयोजक कुंवरले भगौतिकी श्रीमती मन्जु पासीलाई हस्तान्तरण समेत गरिन् । उनीहरुले अव असल छिमेकी भएर मिलीजुली बस्ने सहमति पनि गरेका छन् ।












प्रतिक्रिया