
काठमाडौं, ६ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अहिलेपनि यातायात क्षेत्रमा सिण्डिकेट कायम छ भन्ने आरोपमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् । उनले भने, ‘अब सिण्डिकेट कहिल्यैपनि नफर्किनेगरि अन्त्य भैसक्यो, सिण्डिकेट चलाउने संघ तथा संस्थाहरु यही श्रावणदेखि बन्द भैसके ।’
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कामा मन्त्री महासेठले भने, ‘अहिलेपनि यातायात क्षेत्रमा सिण्डिकेट छ भन्ने हल्लामा कुनै सत्यता छैन, सिण्डिकेट चलाउने संघ तथा संस्थाहरुको नविकरण यो साउन १ गतेदेखि बन्द गरिएको छ, संघ तथा संस्था गैरनाफामूलक कानून अन्तर्गत जुन कानून अन्तर्गत एनजिओ तथा आईएनजिओहरु दर्ता हुन्छन्, त्यो कानून अन्तर्गत हिजो देशभरि जिल्ला प्रशासन कार्यालयमा बस व्यवसायीहरुको संघ/संस्था दर्ता गरिएको थियो, वास्तवमा बस लगायत यातायात व्यवसाय नाफामूलक नै हो, त्यसैले हामीले यसलाई खारेज गरेर कम्पनी ऐनमा ल्याउनैपर्ने प्रावधान राखेका छौं ।’
मन्त्री महासेठले कम्पनी ऐन अन्र्तगर्त ल्याउनको लागि आफूहरुले निर्देशिका जारी गरिसकेको बताउँदै भने, ‘सिण्डिकेट आजबाट खारेज गर्ने भनेर बैशाख २३ गते जुन हाम्रो एउटा सम्झौता भयो, त्यसपछि उहाँहरुले यस प्रकारका कुनैपनि क्रियाकलापहरु देखाउनुभएको छैन, हामीले चैत्र १८ गते जुन निर्देशिका जारी गरेका थियौं, त्यसमा केही कमजोरी भएको थियो, त्यो कमिकमजोरीलाई अहिले हामीले हटाएका छौं ।’
त्यस्तै आगामी चार वर्षभित्र मदन भण्डारी राजमार्ग, ३ वर्षभित्र मध्य पहाडी लोकमार्ग र ४ वर्षभित्र तराईको लाईफलाईन मानिने हुलाकी राजमार्गको निर्माण सम्पन्न हुने मन्त्री महासेठले जनाए । उनले भने, ‘अब आउने चुनावमा तराईका जनताले हुलाकी राजमार्ग हुँदै भोट माग्न पाउनुहुन्छ, अहिले हामीले यसको लागि ६० वटा पुल बनाईसकेका छौं, ३० वटा बन्न बाँकी छ, १० वटाको लागि डिपिआर भैसकेको छ।
फरक प्रसँगमा उनले अनशनरत डाक्टर गोविन्द केसीको मागलाई राजनीतिक विषय बनाउन नहुने धारणा राखे । उनले भने, ‘डाक्टर केसी अहिले अनशनमा हुनुहुन्छ, उहाँले आफ्ना मागलाई राजनीति माग बनाउनुभएन, तपाई विशुद्ध जुन पेशामा हुनुहुन्छ, हो त्यसमै लिमिट हुनुहोस् ।’












प्रतिक्रिया