
काठमाडौँ, ५ साउन । त्रिभुवन विश्वविद्यालयको ५९ औं वार्षिकोत्सवको अवसरमा त्रिवि वार्षिक सभाको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री एवं त्रिविका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न सभाले शैक्षिक सत्र २०७४/०७५ मा स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि उत्तीर्ण विभिन्न संकाय तथा अध्ययन संस्थान अन्तरगत कुल ७३ हजार ९ सय १ जना विद्यार्थीहरुको ५६ औं ग्रेस लिस्ट स्वीकृत गरेको छ ।
जसमा संकायतर्फ शिक्षाशास्त्र संकायमा २४ हजार ७ सय ३ जना, व्यवस्थापन संकायमा २२ हजार ६ सय ९ जना, मानविकी तथा सामाजिक शास्त्र संकायमा १४ हजार २ सय १५ जना र कानुन संकायमा १ हजार ३ सय ५० जना विद्यार्थीले उपाधि हासिल गर्न सक्षम भएका छन् ।
यसैगरी अध्ययन संस्थान अन्तरगत विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट ५ हजार ९ सय ५५ जना, इन्जिनियरिङ्ग अध्ययन संस्थानमा २ हजार ७ सय १२ जना, चिकित्साशास्त्र अध्ययन संस्थानबाट १ हजार ८ सय २१ जना, कृषि र पशु विज्ञान अध्ययन संस्थानबाट ३ सय २६ जना र वन विज्ञान अध्ययन संस्थानबाट २१० जना विद्यार्थी उपाधि हासिल गर्न सक्षम भएका छन् ।
सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं त्रिविका कुलपति ओलीले कृषि क्षेत्रमा प्राविधिक जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए । व्यवसायिक शिक्षालाई आधुनिकीकरण गरी कृषि क्षेत्रमा थप शसक्त एवं परिणामुखी बनाउनुपर्ने जरुरी भएको बताए ।
यसैगरी शिक्षा तथा विज्ञान प्रविधिमन्त्री एवं त्रिविका सहकुलपति गिरिराजमणी पोखरेलले समृद्ध नेपाल, सुखी नेपालीको अभिलाषा पुरा गर्न त्रिविले प्रविधियुक्त दक्ष जनशक्ति निर्माण गरेर योगदान पु¥याउनु पर्ने र त्यसको लागि सरकारको तर्फबाट सक्दो सहयोग रहने धारणा व्यक्त गरे ।
यस्तै उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले त्रिविले पछिल्लो समय भिजन २०२० निर्माण गरी गुणस्तरीय शिक्षा प्रदान गर्न लागि परेको बताए । उनले त्रिवि विश्वविद्यालयको विश्व वेभ सर्वे सूचीमा ४२४१ औं स्थानबाट ३८९५ औं स्थानमा उक्लिएको बताउँदै अनुसन्धान सहयोगको लागि कोष निर्माण गरिएको जानकारी दिए ।












प्रतिक्रिया