
धनगढी, ३ साउन । कैलालीको पूर्वी भेगको बौनिया बजारमा सरकारको अनुदानमा रासायनिक मल बिक्री केन्द्र स्थापना गरिएको छ ।
मल केन्द्र स्थापना भएसँगै किसान उत्साहित भएका छन् । ठाउँमा मल बिक्री केन्द्र स्थापना भएपछि अब यहाँका किसानले मल खरिद गर्न सदरमुकाम धनगढी धाउनुपर्ने छैन ।
“मल बिक्री केन्द्र स्थापनापछि किसान उत्साहित भएका छन्,” प्रतापपुरको किसान बहुद्देश्यीय सहकारी संस्थाका जयनारायण चौधरीले भन्नुभयो । यसअघिसम्म अनुदानित मल खरिद गर्न धनगढी धाउनुपर्दा समय बढी लाग्ने, खर्चिलो र झन्झटिलो हुने गरेको थियो ।
बौनिया बजारमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड क्षेत्रीय कार्यालय धनगढीको पहलमा अनुदानित रासायनिक मलको बिक्री केन्द्र स्थापना गरिएको हो । कार्यालयका सहायक महाप्रबन्धक केशवप्रशाद पाण्डेले बिक्री केन्द्र स्थापनाबाट समयमै र सहजरुपमा मल प्राप्त हुने बताउनुभयो ।
साल्ट ट्रेडिङले क्षेत्रीय कार्यालय धनगढी र महेन्द्रनगरको उपशाखा कार्यालयमार्फत पनि अनुदानित मल बिक्री गर्दै आएको छ । आव २०७४/७५ मा अनुदानको युरिया आठ हजार ४५९ मेट्रिक टन, डिएपी तीन हजार १६६ मेट्रिक टन र पोटास २१६ मेट्रिक टन मल बिक्री भएको छ । उक्त अवधिमा गैरअनुदानित मल सिंगल सुपरफस्पेट (एसएसपी) एक हजार ५६६ मेट्रिक टन र एमोनियम सल्फेट ४६ मेट्रिक टन बिक्री भएको बताइएको छ ।
अनुदानको मलको कूल परिमाणको ३० प्रतिशत साल्ट ट्रेडिङले र बाँकी ७० प्रतिशत कृषि सामग्री कम्पनी लिमिटेडले सहकारी संस्थमार्फत बिक्री वितरण गर्दै आएको छ । –रासस















प्रतिक्रिया