१ कार्तिक २०८३, आइतबार

सुनाकलीमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा किशोरीले बढाए गौरव

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-कृष्णराज गौतम 

काठमाडौँ, २ साउन । कर्णाली प्रदेशको हिमाली क्षेत्र मुगुका विभिन्न गाउँमा जन्मिएर स–साना हिउँका ढिक्कालाई फुटबल बनाएर लड्दै खेल्दै हुर्केका १७ जना किशोरीले देशको प्रतिनिधित्व गरेर स्पेनको डोनोस्टी कप फुटबल टुर्नामेन्ट २०१८ मा सहभागी भएको समाचारले अहिले सर्वसाधारणको मन जितेको छ ।

स्थानीय विद्यालयमा छ कक्षादेखि १० सम्म अध्ययन गर्दै गरेका १४ वर्षमुनिका छात्राहरुले प्राप्त गरेको अवसर तथा उनीहरुले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा मुलुकको प्रतिनिधित्वको विषय समग्र राष्ट्रको गौरवसँग जोडिएको छ ।

मुगु टोलीले यही असार १७ देखि २३ गतेसम्म स्पेनमा मेड्रिट, वार्षिलोनालगायत चार समूहसँग फुटबल खेलेको थियो । उक्त खेलमा नेपालको सहभागिता पहिलो हो ।

उक्त प्रतियोगितामा सहभागी हुने छात्रामा सुनमती बुढा, राज्यलक्ष्मी बुढा, रोशनी कामी, सत्यलक्ष्मी बुढा, यमुना चौलागार्इं, विपना मल्ल, संगीता थापा, पुष्पा शाही, उर्मीला बडुवाल, सत्या बुढा, स्वस्तीका मल्ल, भाग्यलक्ष्मी भाम, सोचपुरा महतारा, हिमाली शाही, रिता रोकाय, रामकली बोहरा र कामदेवी बढुवाल हुनुहुन्छ ।

मुगुमा करीब ५५ हजार जनसंख्या भएको ठाउँबाट त्यहाँ पुगेका छात्राले वार्षिलोनाको ९६ हजार दर्शक अटाउने रंगशालाको संरचना, त्यसको बनोट, त्यहाँभित्र खेलाइने विभिन्न खलकूद प्रतियोगिताकाबारे अध्ययन तथा जानकारी लिएका छन् ।

पत्रकार भोजराज भाटले मुगुमा घुम्ने क्रममा स्थानीय नानीहरुले हिउँलाई भकुण्डो बनाएर खेलेको देखेपछि सोही विषयवस्तुका आधारमा करीब ५० मिनेटको ‘सुनाकली’ नामक वृत्तचित्र निर्माण गर्नुभयो ।

सन् २०१५ मा निर्माण गरिएको वृत्तचित्रमा मुगुको गरिबी, भोकमारी, अभावमा हुर्केका किशोरीको फुटबलप्रतिको आकर्षणलाई देखाइएको छ । उक्त वृत्तचित्रले ६५ देशका १८६ महोत्सवमा भाग लिएर २३ वटा अन्तर्राष्ट्रिय अवार्ड तथा १८ हजार अमेरिकी डलर जित्न सफल भयो ।

सोही वृत्तचित्रका माध्यमबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सुनाकली समूहलाई अवसर प्राप्त भएको भए पनि उक्त समूहका अधिकांश किशोरीको छिटो विवाह भएका कारण नयाँ समूह जुनियर टिम छनोट गर्ने क्रममा ती किशोरीले अवसर पाएका हुन् ।

पत्रकार भाटले आफ्नो क्रियाशीलतामा उक्त टोली स्पेन गई फुटबल प्रतियोगितामा सहभागी भएको जानकारी गराउनुभयो ।

फुटबलको अन्तर्राष्ट्रिय संस्थाका रुपमा चिनिएको फिफाले उक्त वृत्तचित्रलाई सन् २०१७ मा मिट द हिमालयन मेस्सीको नाम दिएको पत्रकार भाटले जानकारी दिनुभयो ।

सहभागी छात्रामध्ये रोशनी कामीले आफ्नो मुगुदेखि स्पेन सम्मको अनुभव सुनाउँदै अवसर पाएमा मुगुका छात्रछात्राले पनि स्वदेश तथा विदेशमा आफ्नो प्रतिभा देखाउन सक्ने विचार व्यक्त गर्नुभयो ।

अर्का छात्रा सोचपुरा महताराले हिउँलाई नजिकबाट आत्मसात गर्दै आइरहेकामा स्पेन यात्राका क्रममा पहिलो पटक काठमाडौँका गगनचुम्बी भवन देख्दा अचम्भित भएको र खेल खेलेर आएपछि समाज विकासका लागि आत्मबल बढेको बताउनुभयो । यसअघि फुटबल नै नदेखेका उनीहरुले मोटर, प्लेन समेत देखेका थिएनन् ।

डिफेन्स करिअर एकेडेमी नेपाल थापाथलीले ती खेलाडीलाई विभिन्न उपहार तथा जर्सीलगायत सामग्रीबाट सम्मान समेत गरेको छ ।

कार्यक्रममा डिक्यानका संरक्षक पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवालले संस्थाका तर्फबाट फुटबल खेलाडी १७ जना छात्रा सबैलाई डिक्यानमा प्रशिक्षण लिई सुरक्षा निकायमा सेवा प्रवेश गर्न चाहेमा पूर्ण छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्नुभयो ।

उहाँले खेलकूदले मानिसको शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभावपार्ने र मुगुको शिक्षा र खेलकूदको क्षेत्रमा सक्दो सहयोग पु¥याउन खेलाडी छात्राहरुलाई सुझाव दिनुभयो ।

करीब तीन दर्जन मुलुकको सहभागिता रहेको उक्त प्रतियोगितामा ६३० समूह तथा सातहजार ५०० खेलाडी सहभागी थिए । आयोजकले प्रतियोगितामा लाग्ने करीब छ हजार अमेरिकी डलर बराबरको दर्ता शुल्क, खाने बस्नेलगायत सुविधा निःशुलक उपलब्ध गराएको थियो ।

सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठले खेलकूद मानिसको जीवनको एक अभिन्न अंग रहेको बताउँदै मुगुका छात्राले देशको शिर उच्च बनाएकामा खुशी व्यक्त गर्नुभएको छ ।

संस्थाका अध्यक्ष गुप्तबहादुर श्रेष्ठले छात्रवृत्ति प्राप्त १७ छात्राहरुले सिफारिस गरी पठाएमा आगामी दिनमा मुगुका अन्य छात्रछात्रालाई डिक्यानबाट प्रशिक्षण लिन चाहेमा कूल शुल्कको ५० प्रतिशत शुल्क छात्रवृत्ति प्रदान गर्ने बचनबद्धता समेत जाहेर गर्नुभयो । –रासस