४ कार्तिक २०८३, बुधबार

सल्यानमा परम्परागत खेती छोडेर जडीबुटी खेतीतर्फ आकर्षण बढ्दो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-मिना बुढाथोकी

सल्यान, ३२ असार । प्राकृतिक रुपमा टिमुर सामुदायिक वनहरुमा पाईन्छ तर, यहाँका कृषकहरुले निजी जग्गाको खेतवारीका डिलमा टिमुर खेती विस्तार गरी आयआर्जन गर्दै आएका छन् ।

विस्तारै यसको माग बढ्दो अवस्थामा रहेको हुनाले व्यवसायिक ढंगले सामुदायिक वन तथा निजी जग्गामा टिमुर खेतीको शुरुआत गरिएको हो । जिल्लाको छत्रेश्वरि गाउँपालिका वडा नम्बर दुईमा टिमुर खेतीले व्यापकता पाएको छ । किसानहरु समूहमै आवद्ध भएर व्यवसायिक रुपमा खेती गरेका छन् ।

रुपान्तरण जडिबुटी कृषक समूहकी सदस्य छत्रेश्वरी गाउँपालिका २ निवासी कमला केसीको बारी, डिल, काल्नामा करिव २ सय टिमुरका बोट छन् । वर्षमा डेढ देखि दुई क्वीन्टलसम्म टिमुर उत्पादन हुन्छ । यस्तै छत्रेश्वरिकै साउनेपानी निवासी हिरालाल ओलीले पनि व्यवसायिक रुपमा टिमुर खेती सुरु गरेका छन् । लालीगुराँस जडिबुटी कृषक समूहका अध्यक्ष रहेका उनले आफ्नो गाउँ टिमुरे गाउँ भइसकेको बताउँछन् ।

रुपान्तरण जडिबुटी कृषक समूहकी सदस्य कमलाले भनिन्, ‘हाम्रो समूहमा मात्रै बसेका १५ जना छौँ, ५० देखि दुई सय बोट टिमुर एउटा घरले रोपेका छन्, १० नम्बर भन्दा कम त कसैले पनि बेच्दैन ।’ यस वडामा अहिले पाँचवटा जडिबुटि कृषक समूह रहेका छन् । र समूहमा आवद्ध दुई सय बढि किसान व्यवसायिक टिमुर खेतीतर्फ अग्रसर छन् । समूह वाहेकका अरु किसानले पनि टिमुर खेती गर्छन् ।

खोरबारे बस्ने रातामाटा जडिबुटी कृषक समूहका अध्यक्ष जित बहादुर ओलीले भने, ‘एक वर्ष अगाडी वनस्पती कार्यालयका सरहरु आएर समूह गठन गरिदिनुभयो । हामी समूहमा आवद्ध ३२ जना किसानले मकै बारी मासेर, काल्नालाई प्लटीङ गरेर टन्न टिमुर रोपेका छौँ ।’ गत वर्ष ६० हजार क्विन्टलका दरले ४ क्विन्टल टिमुर विक्रि गरेर २ लाख ४० हजार रुपैयाँ हात पारेका जित बहादुरले यसपाली थप ४ सय बढि टिमुरका विरुवा रोपेका छन् । अहिले फल दिने ५ सय बढि बोट रहेको उनले बताए ।

गत आर्थीक वष मात्रै यहाँबाट ३ लाख ५३ हजार ७ सय २ किलो टिमुर बाहिरिएको छ । यसबाट मात्रै २५ लाख ४६ हजार ६ सय ५५ रुपैयाँ राजस्व उठेको जिल्ला वन कार्यालय सल्यानले जानकारी दिएको छ । जडिबुटीको भण्डार मानिने सल्यानमा उत्पादन हुने टिमुर, रोजमेरिलाइ प्रशोधन गरेर तेल निकाल्नका लागि अहिले जिल्लामै उद्योग पनि खुलिसकेको छ । जिल्लाका उद्योगी हरि न्यौपाने र विर बहादुर चलाउनेले झण्डै एक करोडको लगानीमा महालक्ष्मी हर्बल उद्योग स्थापना गरेका हुन् ।