कञ्चनपुर, २८ पुस । आइतबार राती झन्डै तीन दर्जनको सङ्ख्यामा आएका जङ्गली हात्तीको बथानले पुनर्वासका दुईवटा बस्तीमा ५० बिगाहाभन्दा बढी जग्गामा लगाएको खाद्यान्न बाली र नगदे बाली नष्ट गरे पछि स्थानीय कृषक चिन्तित बनेका छन् ।
सीमावर्ती भारतीय दुधवा राष्ट्रिय निकुन्जबाट आउने हात्तीको बथानले दैनिकजसो मानव बस्तीमा प्रवेश गरी खेतबारीमा लगाएको अन्नबाली नष्ट गर्न थालेपछि कृषक मर्कामा परेका हुन् ।
गएको असोज महिनादेखि दैनिकजसो आउने गरेको हात्तीको बथानले यसअघि झन्डै १०० बिगाहा जग्गामा लगाएको धानबाली नष्ट गरेको थियो ।
एक महिनाको अन्तरालमा हात्ती पुनःआउन थाले पछि स्थानीय कृषक आतङ्कित बन्नपुगेका छन् । सिँचाइ र मल बीउमा लगानी गरी हराभरा बनेको एक बिगाहा जग्गामा लगाएको गहुँबाली अचानक हात्तीले नष्ट गर्दा बिचफाँटाका कृषक सीताराम जैसी भन्नुहुन्छ “दुःख गरेर लगानीको जोहो गरी गहुँको खेती गरियो लहलहाउँदो बाली भएका बेला हात्तीको चरन बन्दा भक्कानो फुटेर आउँछ ।
सोही बस्तीमा हात्तीको बथानले उखु नष्ट गरे पछि दीपबहादुर शाही भन्नुहुन्छ “काट्न तयार रहेको करिब पाँच कट्ठा बारीको उखु हात्तीले पुर्णरुपमा सखाप पारे पछि आर्थिकरुपमा सङ्कट आएको छ ।
सरकारी निकायले क्षतिपूर्तिको व्यवस्था गर्न पहल गर्नुपर्छ , पटक–पटक बालीमा पसेर जङ्गली हात्तीले बितण्डा मच्चाएर लाखौँको अन्नबाली नष्ट गरेको पीडा भोगेका स्थानीय कृषकले सम्बन्धित सरकारी निकायसँग सहयोगको याचना गरेका छन् ।
यस सम्बन्धमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरे भन्नुहुन्छ ‘केही महिनादेखि त्यस क्षेत्रमा जङ्गली हात्तीले किसानको अन्नबाली नोक्सान गरेको खबर आएको छ । क्षतिपूर्तिका लागि त्यहाँबाट निवेदन नआएकले केही गर्न नसकिएको हो ।’ निवेदन आए व्यवस्था मिलाउनका लागि पहल गर्ने उहाँको भनाइ छ । रासस















प्रतिक्रिया