काठमाडौं, २८ पुस । संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला हेर्ने चिफ अफ एसिया प्यासिफिक डिभिजनका प्रमुख मारी यामासिताले नेपालका राजनीतिक दलका शीर्ष नेताहरुलाई भेटी संविधान लेखनमा देखिएको अवरोधका विषयमा चासो व्यक्त गरेका छन् ।
आइतबार अबेर नेकपा एमालेका शीर्ष नेता माधवकुमार नेपाललाई भेटेका यामासिताले सोमबार बिहान काँग्रेस उपसभापति रामचन्द्र पौडेललाई भेटी संविधान लेखनमा भएको अल्झन र दलीय छलफलहरुको बारेमा जानकारी लिएका थिए । बिहान १० वजे नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा भएको भेटवार्तामा संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनका विशेष प्रतिनिधि मिस्टर जेफ्रि फेल्टम्यानको आगामी भ्रमणका विषयमा पनि छलफल भएको थियो ।
भेटमा यामासिताको जिज्ञासाको जबाफ दिँदै काँग्रेस उपसभापति पौडेलले दलहरुका बीचमा भइरहेको सहमतिको प्रयासहरु संघियता, शासकिय स्वरुप, निर्वाचन प्रणाली, न्यायप्रणालीका सन्दर्भमा बिभिन्न दलहरुका धारणा तथा नेपालीको कांग्रेसको धारणाका बारेमा जानकारी गराएका थिए ।
संयुक्त राष्ट्रसंघीय टोलीका प्रमुख यामासिताले राजनीतिक दलहरुलाई सहमति गरेर संविधान निर्माण गर्ने सफलताको शुभकामना दिएका थिए । उपसभापति पौडेलले मुलुक सकेसम्म सहमतिमा नै संविधान जारी गर्ने पक्षमा कांग्रेस रहेको जानकारी गराए ।
यता, आइतबार बेलुकीको भेटमा एमाले शीर्ष नेता एवं पूर्वप्रधानमन्त्री नेपालले दलहरुबीच भैरहेका सहमति प्रयासहरु, संघियता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीका सन्दर्भमा विभिन्न दलहरुले राखेका धारणाहरु तथा नेकपा एमालेका दृष्टिकोणहरु बारेमा राष्ट्रसंघीय टोलीलाई जानकारी गराएका थिए । प्रतिनिधिमण्डल प्रमुख यामासिताले “बाँकी रहेको छोटो अवधिमा संविधान निर्माण गरी जारी गर्न सकिन्छ भन्ने कुरामा कत्तिको आशावादी हुनुहुन्छ ?” भन्ने प्रश्नको जवाफमा नेता नेपालले आफूले विभिन्न चरणमा एमाओवादी अध्यक्ष प्रचण्ड तथा अन्य नेताहरुसँग गरेका विविध खाले बैठकले आपसी दुरी घटाउन र समझदारी निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको र अन्तिम समय सम्म समझदारी कायम हुने कुरामा आफु आशावादी रहेको बताएका थिए ।
राष्ट्रसंघिय टोलीमा टोली प्रमुख मारी यामासिता सहित नेपालका लागि राष्ट्रसंघका आवासीय प्रतिनिधि जामी मेगोल्ड्रिक तथा नेपालका लागि राष्ट्रसंघीय राजनीतिक मामिला प्रमुख योन मेडिना भिभान्कोको सहभागिता छ ।
















प्रतिक्रिया