काठमाडौं २८ पुस । एमाओवादी नेतृत्वको विपक्षी ३० दलीय मोर्चाले आह्वान गरेको मधेस बन्दको कारण आज बिहानैबाट त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । यता, मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्दको पश्चिम नेपालमा आशिंक प्रभाव परेको छ ।
पर्सा: बन्दका कारण वीरगन्जसहित आसपासको जनजीवन प्रभावित भएको छ भने सर्वसाधारणले सास्ती झेल्न परेको छ । बन्दका कारण यहाँबाट बाहिरिने सबै लामो दूरीका सवारी साधन ठप्प भएका छन् भने छोटो दूरीका सवारीसाधनमा पनि सञ्चालनमा आउन नसक्दा काम विशेषले हिँडेका यात्रुको बिचल्ली भएको छ । बन्दका कारण शैक्षिक संस्था र उद्योगधन्दा पनि ठप्प भएका छन् ।
प्रेस, विवाह तथा एम्बुलेन्स र दमकलबाहेकका अन्य सवारीसाधन सञ्चालनमा रोक लगाइएको विपक्षी मोर्चाका पर्सा जिल्ला संयोजक मधेसी जनअधिकार फोरम पर्साका अध्यक्ष प्रदीप यादवले बताउनुभयो । उहाँले आज एक दिनका लागि शैक्षिक संस्था र कलकारखाना पनि बन्द आह्वान गरिएको बताउनुभयो । बन्द सफल बनाउनका लागि मोर्चाका कार्यकर्ता बिहानैबाट सडकमा उत्रिएका छन् ।
शैक्षिक संस्था बन्द हुँदा विद्यार्थी प्रत्यक्ष मारमा परेको अभिभावकले बताएका छन् । उद्योगधन्दा बन्द हुँदा आफूहरूलाई करोडौँको घाटा लाग्ने वीरगन्जका उद्योगी अशोक वैद्यले बताउनुभयो । संविधानसभाबाट सहमतीय प्रक्रियाबाट नै संविधान जारी गर्नु लगायतका विभिन्न माग राख्दै विपक्र्षी मोर्चाले आज मधेससहित थरूहट बन्दको आह्वान गरेको हो । बन्द भएको थाहा नपाएर भारतबाट नेपाल छिरेका यात्रु तथा पर्यटकको पनि सीमा क्षेत्रमा बिचल्ली भएको छ ।
विराटनगर : तीस दलीय गठबन्धनले आज गरेको मधेस बन्दको पूर्वाञ्चलको तराई क्षेत्रमा बिहानैदेखि व्यापक रूपमा असर परेको छ ।
यस क्षेत्रका झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहा जिल्लास्थित पूर्व–पश्चिम राजमार्गका साथै सहायक मार्गमा बिहानैदेखि यात्रुवाहक बसलगायत निजी सवारी पनि ठप्प भएका छन् । बन्दको प्रभाव विद्यालय र उद्योगमा पनि परेको छ ।
एकीकृत नेकपा ९माओवादी० मधेसी मोर्चालगायत ३० दलीय गठबन्धनले पहिचानसहितको सङ्घीयताको माग गर्दै आज मधेस बन्दको आह्वान गरेको हो । जिल्ला प्रहरी कार्यालयले बन्द शान्तिपूर्ण रहेको अहिलेसम्म कुनै प्रकारको अप्रिय घटना नभएको जनाएको छ ।
कञ्चनपुर : एकीकृत नेकपा ९माओवादी०सहितका ३० दलको आह्वानमा गरिएको बन्दका कारण कञ्चनपुर जिल्लाको जनजीवन नराम्ररी प्रभावित भएको छ ।
आज बिहानैदेखि जिल्ला सदरमुकाम महेन्द्रनगरस्थित बसपार्क बाट सञ्चालन हुने लामो र छोटो दुरीका यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । मुख्य बजार, विद्यालय, क्याम्पस समेत बन्द रहेका छन् ।
भारतमा मजदुरी गरी माघेसङ्क्रान्ति मनाउन घर जानका लागि आएका तीन दर्जनभन्दा बढी पहाडी क्षेत्रका यात्रु महेन्द्रनगर बस पार्कमै अलपत्र परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पूर्व पश्चिम राजमार्ग र बजार क्षेत्रमा प्रहरीको गस्ती टोलीलाई प्रभावकारी रूपमा परिचालन गरिएको छ ।
पश्चिम नेपालमा आशिंक प्रभाव
नेकपा माओवादीले बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ, गुल्मी, स्याङ्जालगायत १९ जिल्लामा माओवादीले आज बन्द आव्हान गरेको छ । बन्दको प्रभाव आंशिक परेको छ । पश्चिम नेपालका अधिकांश ठाउँमा बन्दको अवज्ञा गर्दै सर्वसाधारणले यातायात तथा कलकारखाना चलाएका छन् । यसअघि हिजो पनि विभिन्न जिल्ला बन्द गरेकामा विभिन्न ठाउँमा बन्दको अवज्ञा भएको थियो । पोखरामा महिलाहरु बन्दको विरोधमा सडकमै उत्रिएका थिए । सर्वपक्षिय गोलमेच सम्मेलनबाट मात्र संविधान जारी हुनुपर्ने माग राख्दै आएको वैद्य माओवादी अहिले आन्दोलनमा छ ।
















प्रतिक्रिया